काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा शुक्रबार दिउँसोसम्म झन्डै २०० गुणाले ओभरसब्सक्राइब्ड भएको छ। 

यो लघुवित्तले गत असार १ गतेदेखि ६७ लाख रुपैयाँबराबर आईपीओमा आवेदन खुला गरेको छ। संस्थाले १०० अंकित दरका कुल ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको हो। कुल कित्तामध्ये ३ हजार ३५० कित्ता (५%) सामूहिक लगानी कोषका लागि र १ हजार ३५ कित्ता सेयर (०.५ प्रतिशत) कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६२ हजार ६१५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। 

सीडीएससीका अनुसार आज दिउँसो पौने २ बजेससम्म यो आईपीओमा १० लाख ६० हजार ६८२ आवेदकबाट कुल १ करोड २१ लाख ३८ हजार ४२० कित्ता सेयर खरिद आवेदन परेको छ। जुन मागभन्दा १९३.८६ गुणा बढी हो। 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ६ हजार २६१ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनैमध्ये भाग्यमानी ५ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।
यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। यो आईपीओको निष्कासन बन्द असार ६ गते बैंकिङ समयपछि हुनेछ। 
लगानीकर्ताले सी–आस्बा सेवा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन पाउनेछन्। सीडीएससीको मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ। 
आदर्श लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।