काठमाण्डौ । कोरोनाभाइरसको त्रासका कारण उत्पन्न परिस्थितिका कारण बजारमा खाना पकाउने ग्यासको अभाव हुन थालेपछि नेपाल आयल निगमले हिजो बिहीबार उपभोक्तालाई आधा भरिएको ग्यास सिलिन्डर वितरण गर्न ग्यास उद्योगहरुलाई निर्देशन दिइसकेको छ। योसँगै निगमले शुक्रबारदेखि लागू हुने ग्यासको मूल्य पनि समायोजन गरेको छ। 

निगमले आधा सिलिन्डर एलपी ग्यासको खुद्रा मूल्य समायोजन गरेको हो । समायोजित मूल्यअनुसार दाङ, बाँके, बर्दिया, कैलाली र कचनपुर जिल्लाका उपभोक्ताले आधा सिलिन्डर एलपी ग्यासको खुद्रा मूल्य ६७० रुपैयाँ तिर्नुपर्ने भएको छ। 

त्यस्तै तराई अन्य जिल्लामा ६७७ रुपैयाँ ५० पैसा कायम गरिएको छ। 

निगमका अनुसार काठमाण्डौ उपत्यलगायतका केही जिल्लामा भने आधा सिलिन्डर एलपी ग्यासको खुद्रा मूल्य ६८७ रुपैयाँ ५० पैसा कायम गरिएको छ। 

२०७२ सालको नाकाबन्दीको समयमा पनि निगमले आधा सिलिन्डर ग्यास वितरण गरेर सहज बनाउने प्रयास गरेको थियो। अहिले कोरोनाभाइरसबाट उत्पन्न परिस्थितिमा उपभोक्ताको सहजताका लागि निगमयले यस्तो कदम उठाएको हो। 

भारतबाट आयात गरिने परिमाण बढाएर बिक्री गर्दा पनि वितरण सहज हुन नसकेपछि आधा सिलिण्डर ग्यास बिक्री  वितरण गर्न लागिएको निगमले स्पष्ट पारेको छ। एक सिलिण्डरमा १४.२ किलो ग्यास हुन्छ। आधा सिलिण्डरमा ७.१ केजी ग्यास हुन्छ।