काठमाण्डौ । विभिन्न समयमा भ्रष्टाचार, अनियमितता र कर छलीका ठूला काण्डहरुमा विवादित बन्दै आएका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई अख्तियारले समातेको छ । 

विभिन्न व्यवसायीहरुलाई उनीहरुको प्रभावमा परी गैरकानूनी ढंगले २१ अर्ब भन्दा बढी कर छुट दिएको आरोपमा अख्तियारले उनलाई पक्राउ गरेको हो । 

कर फ्छर्यौट आयोगमार्फत उनले व्यवसायीहरुलाई मनपरी कर छुट दिएका अख्तियारको आरोप छ । शुक्रबार दिउँसो लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागबाट उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको बताइएको छ । 

अख्तियारले उनीमाथि आयोगमार्फत २१ अर्ब बढी कर छुट दिएको, अकुत सम्पत्ति कमाएको लगायतका आरोप लगाएको छ । 

शर्मा विगत लामो समयदेखि शक्तिशाली र मालदार ठाउँहरुमा रजाइँ गर्ने सहसचिवको रुपमा चिनिन्छन् । 

केही वर्षअघि सुनसरीको प्रमुख जिल्ला अधिकारी हुँदा उनले शिवप्रसाद घिमिरेको सुुगम ग्याँस उद्योगलाई प्रभावमा परेर उन्मुक्ति दिने काम गरेका थिए । घिमिरेले अरु ग्यासको सिलिण्डर सुुनसरीको खनारस्थित नेपा पेटोलियम लिंक्स परिसरमा थुुपारेर त्यसको फुटरिंग र नेटरिंग जोखिमपूर्ण ढंगले काटी सुुगम ग्याँसको फुटरिंग र नेटरिंग जोडी बजारमा पठाउने गरेको भेटिएको थियो । सो काण्डमा उनले घिमिरेबाट राम्रै नजराना लिएर उनलाई सामान्य कारबाही गरी छाडिदिएका थिए । 

सुनसरीमा विवादित छवि बनाएका उनलाई सरकारले कारबाही गर्न छाडेर काठमाण्डौको प्रमुख जिल्ला अधिकारी बनाएको थियो । सो बेला समेत उनले गैरकानूनी धन्दा गर्नेहरुसँग मिलेर अकूत सम्पत्ति कमाएका आरोप लागेको थियो । आरोपको बिषयमा छानबिन नगरी सरकारले उनलाई एकपछि अर्को रोजेको मालदार ठाउँमा सरुवा गरिदिएको थियो । त्यसपछि उनी सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशक हुँदै आन्तरिक राजश्व विभागसम्म पुुगेका थिए । 

अर्थमन्त्री डा. रामशरण महतको पालामा कर फ्छर्यौट आयोग गठन गरिएको थियो । आयोगमा शर्मा पनि सदस्य थिए । यसको अध्यक्षमा चाहि सिए लुुुम्बध्वज महत रहेका छन् । अर्को सदस्यमा उमेश ढकाल छन् । यिनै तीनजनाको समूहले पछिल्लो समय ठूला व्यवसायीलाई २१ अर्ब बढी कर छुट दिएको फेला परेको अख्तियार स्रोतले बताएको छ । 

राम्रा लेखक, भ्रष्ट मति  !
शर्मा एक राम्रा लेखक पनि हुन् । उनले ७० वटा भन्दा बढी लोकसेवा आयोगसँग सम्बन्धित पुस्तकहरु लेखेका छन् । उनले किताब लेखेर पाउने रोयल्टी र उनको तलबबाहेक समेत अकूत सम्पत्ति कमाएका छानबिनको क्रममा पाइएको अख्तियारले दाबी गरेको छ । उनलाई अख्तियारकै हिरासतमा राखी आवश्यक कार्यबाही अगाडि बढाइएको बताइएको छ ।