काठमाण्डौ । सरकारले आर्थिक विधेयक २०८० मार्फत लिएको कर नीतिको विरोध जनाउँदै सेयर लगानीकर्ताहरुले आज बिहान काठमाण्डौमा रहेका ५० वटै ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरेका छन्।
आन्दोलनरत लगानीकर्ताहरुले आज बिहानैबाट काठमाण्डौका ब्रोकर कार्यालयहरुमा तालाबन्दी गर्न खटिएका थिए। स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्कीले ५० वटै ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरिएको जानकारी दिए।
आफूहरुले उठाएको माग पूरा नभएसम्म ब्रोकर कार्यालयहरु खोल्न नदिने र सेयर कारोबार पनि हुन नदिने कार्कीले स्पष्ट पारे। ‘यदि कसैले ब्रोकर कार्यालयको ताला खोल्ने कोसिस भएमा त्यसको प्रतिवाद हुनेछ र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी स्वयं सरकार र ब्रोकर सञ्चालकले लिनुपर्नेछ’, उनले भने।
आर्थिक विधेयकको २९ नं. बुँदा खारेजीको माग लगानीकर्ताहरुले गरेका छन्। उक्त बुँदामार्फत सेयर लगानीकर्तालाई आयकरमा तान्न लागिएको उनीहरुको भनाइ छ। यसअघिको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुनुपर्ने उनीहरुको माग छ।
ब्रोकर कार्यालयहरु तालाबन्दी गरिएसँगै नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमाल सेयर कारोबार सञ्चालनको विषयमा छलफल गर्न अर्थ मन्त्रालय पुगेका छन्। नेप्सेका सीईओले पनि सबै पक्षसँग समन्वय गर्न तयार रहेको बताएका छन्।
ब्रोकर सञ्चालकहरुले भने आफूहरुले ताला खोल्न नसक्ने र नियामक निकाय र सरकारले नै आन्दोलन लगानीकर्तालाई आश्वस्त पारी ताला खोल्ने वातावरण बनाउनुपर्ने बताएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19