-भक्तराज रसाइली
काठमाण्डौ । गत सोमबार नेपाल स्टक एक्सचेञ्जमा प्रदर्शनको क्रममा भएको कोणसभामार्फत नेपालका सेयर ब्रोकरहरुलाई चोरको संज्ञा दिएका नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारप्रति ब्रोकरहरु आगो भएका छन् । 

रौनियारले निकै तल्लो स्तरमा झरेर चोर भन्दै ब्रोकरहरुलाई गाली गरेपछि यसले सेयर बजारमै हलचल ल्याइदिएको छ ।। 

यो प्रकरण बिजशालाले भिडियोसहित सार्वजनिक गरेको थियो । बिजशालाले सार्वजनिक गरेको भिडियो प्रमाणकै आधारमा ५० वटा ब्रोकरको साझा संगठन स्टक ब्रोकर एशोसिएसनले समेत रौनियार उपाध्यक्ष रहेको इन्भेष्टर्स फोरमलाई बुधबार पत्र पठाउँदै प्रष्टीकरण सोधेको छ । 

छोटेलालजीले बोलेका कुरा व्यक्तिगत हुन् या संस्थागत धारणा हो भनी हामीले फोरमलाई लिखित रुपमा पत्राचार गरेका छौ । स्टक ब्रोकर एशोसिएसनस्थित एक स्रोतले भन्यो-'रौनियार जीले चोर आरोप लगाएपछि सबै ब्रोकरहरु आक्रोशित छन् । उहाँजस्तो जिम्मेवार व्यक्तिले बोलेका कुराले हामीलाई गम्भीर बनाइदिएको छ ।' 

स्टक ब्रोकर एशोसिएसनले बुधबार इन्भेष्टर्स फोरमको कार्यालयमा दर्ता गरेको पत्रको जवाफका आधारमा फोरमसँगको आगामी सम्बन्ध तथा सार्वजनिक स्थानमा सार्वजनिक पद धारणा गरेको व्यक्तिले बोलेको बिषयमा चाल्न सकिने आगामी कदमहरुको बिषयमा निक्र्यौल गर्ने बताइएको छ ।

पच्चीस  वर्षदेखि सेयर ब्रोकरहरुले समग्र पूँजी बजारको विषयमा नियामक र सम्बन्धित सरोकारवालाहरुसँग सन्तुलित र अनुशासनमा रही काम गरिरहेको भन्दै स्टक ब्रोकर एशोसिएसनकै बैठकमा समेत अधिकांशले रौनियारलाई त्यसै छाड्न नहुने धारणा राखेका एक सहभागीले बिजशालालाई बताएका छन् । 

‘यदि ब्रोकरले चोरजस्तै काम गरेका भए उजुरी गर्ने निकायमा गएर गुनासो राख्नुपर्नेमा सार्वजनिक स्थलमा लगाएको मिथ्या चोरको आरोपले फोरम उपाध्यक्ष रौनियारको स्तर समेत प्रष्टियो ।’ एक ब्रोकरले भने ।

रौनियारको सो भनाईप्रति कुन ब्रोकर के भन्छन् त ? हामीले संक्षिप्तमा बुझ्ने कोशिश गरेका छौ:

भरत रानाभाट(अध्यक्ष)-स्टक ब्रोकर एसोसिएसन 
सम्मानित संस्था नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष जस्तो व्यक्तिले लगाएको आरोपले हामी गम्भीर भएका छौ । धैरै पटक यस्तै मिथ्या आरोप लगाएकाले साथीहरु आक्रोशित हुनुहुन्छ । एशोसिएसन पनि यो पटक यो बिषयमा निकै गम्भीर छ ।

गुणनिधि भुषाल(कोषाध्यक्ष)-स्टक ब्रोकर एसोसिएसन
गैरजिम्मेवारीको पराकाष्ठा हो । सार्वजनिक पदमा बसेर गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिने रौनियार लगायत उनको संस्थाप्रति नै प्रश्नचिन्ह खडा भएको छ । यस्ता विवादास्पद बोल्दै हिंड्ने व्यक्तिलाई कस्ता व्यक्तिले चुनेका हुन् ? उनीहरु नेता हुन्, बोली व्यवहार सबैले मान्नुपर्ने ठाउँमा बसेर यस्तो हर्कत देखाउने ? हामी ब्रोकरहरु उच्च निगरानी र अनुशासनमा बस्छौं र हामीप्रतिको उजुरी गुनासा सम्बन्धित ठाउँमा राख्न सकिने व्यवस्था नभएको पनि होइन । प्रमाण बिनाको हो यो । हामी सबै सरोकारवालाहरु एक डुङ्गाका यात्रु भएकाले आपसी सद्भाव राम्रो हुन आवश्यक छ । यो ‘चोर’ भन्ने तरिकाले राम्रो भइँदैन, आफ्नै मुखमा थुक पर्छ । यसपालि कारवाही प्रक्रिया बढाएकाले छाड्दैनौं । कानून पनि आकर्षण गरेर कारवाही गर्ने तयारी भइरहेको छ ।

सन्तोष मैनाली-ब्रोकर नम्बर ३६
उहाँले जिम्मेवार पदमा बसेर हल्का टिप्पणी दिन सुहाउन्न थियो । भीडलाई उत्तेजित बनाउने छोटेलाल रोैनियारको अभिव्यक्तिले समग्र बजारलाई नै पनि असर गर्दछ । सेयर बजारप्रति आम लगानीकर्ताहरुको विश्वसनीयताप्रति धरासायी हुने स्थितिको आँकलन गर्न सकिन्छ  । बजारप्रतिको विश्वास गुमेको खण्डमा नेपाल सरकारलाई पनि मुश्किल पर्ने देखिन्छ । यस्ता कुरामा मनन गर्नुपर्ने र स्पष्टीकरण पनि दिनुपर्ने जरुरत रहेको छ ।

नितेश अग्रवाल-ब्रोकर नम्बर १७ 
संस्थाको प्रतिनिधि उपाध्यक्षको हैसियतले के आधारमा भन्नुभयो ? हामीले नियममा बाँधिएर नै काम गरेका छौं । गलत गरेका भए प्रमाण दिनुस् । कुनै पनि पेशालाई होच्याएर बोल्न मिल्दैन । यसमा नेपाल इन्भेष्टर फोरम स्वयम्ले पनि जिम्मेवारी लिनुपर्छ । 

यसरी ब्रोकरहरुलाई आगो बनाउने गरी रौनियारले के भनेका थिए त ? हेर्नुहोस् भिडियो: