काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले लगानी बोर्डलाई आफैँले पुँजी निर्माण गरी ठूलो परियोजना अघि बढाउन निर्देशन दिएका छन्।
बोर्डअन्तर्गत अनुगमन तथा सहजीकरण समितिको बुधबार बसेको सातौँ बैठकमा सहभागी हुँदै मन्त्री शर्माले लगानी बोर्ड पुँजी निर्माणमा अघि बढे मन्त्रालयले आवश्यक सहयोग गर्ने पनि बताए। ‘बोर्डको कार्य प्रकृति कस्तो छ भने कोही आउँला र उसले भनेअनुसारको काम गरिदिउँला भनेर पर्खेर बस्ने किसिमको छ। अब सधैँ यसरीमात्रै चल्दैन’, उनले भने, ‘लगाानी बोर्ड आफैँले पुँजी निर्माण गरी ठूला परियोजनामा लगानी गर्नेतर्फ ध्यान दिनुपर्छ। बरु यस्तो कोष बनाउने भए हामी पनि के–कस्ता सहयोग गर्न सक्छौँ, त्यसमा छलफल गरौँला।’
बोर्ड उपाध्यक्षसमेत रहेका अर्थमन्त्री शर्माले निजी क्षेत्रसँग छलफल गरी निर्यातमा आधारित परियोजनाका लागि पुँजी कोषको निर्माण गर्न बोर्डलाई सुझाव दिए। कुल ग्राहस्थ उत्पादन (जिडिपी) र पुँजी निर्माणमा महत्वपूर्ण योगदान गर्ने परियोजनाहरु परिकल्पना गरी लगाानीका लागि अग्रसरता लिन उनले बोर्डलाई आग्रह गरे। ‘कसले आएर के भन्छ भन्ला भनी प्रोजेक्ट पर्खेर बस्ने होइन, लगानी बोर्ड आफैँले प्रोजेक्ट जन्माउनुपर्यो’, उनले भने।
समिति बैठकमा लगानी बोर्डले अरुण तेस्रो जलविद्युत आयोजना र मातहतका परियोजना, लजिस्टिक परियोजनाहरु, खप्तड एकिकृत पर्यटन विकास कार्यक्रम, तमोर जलाशययुक्त जलविद्युत परियोजना, माथिल्लो मर्स्याङ्दी जलविद्युत परियोजना, प्लान्ट भेहिकल म्यानुफ्याक्चरिङ एन्ड एसेम्ब्लीङ प्लान्ट र हुवासिन समेन्ट परियोजनाको कार्य प्रगतिबारे प्रस्तुतीकरण दिएको थियो।
सो प्रस्तुतीकरणपछि अर्थमन्त्री शर्माले ठूला विदेशी लगानीकर्तालाई बोर्डबाट एकल विन्दु सेवा दिने निर्णय भए पनि कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाए। ‘हामीले वैदेशिक लगानीलाई सहजीकरण गर्न बोर्डमार्फत एकल विन्दु सेवा दिने भनेका थियौँ। त्यो प्रक्रिया कहाँ छ भन्नेबारे सजग हुनुपर्छ’, उनले भने।
शर्माले विदेशी लगाानीकर्ताहरु आफैँ परियोजना छनौट गरेर वा नेपालको परियोजनामा लगानी साझेदार भई आउने गरेका कारण सबैलाई समान व्यवहार गरी सहज।ीकरण गर्नुपर्ने बताए। उनले परपम्परागत विकासको संस्कृतिलाई बदलेर अगाडि बढ्नुपर्ने धारणा राखे।
लगानी बोर्डमा आउने परियोजनालाई अध्ययनका लागि भन्दै लामो समयसम्म फाइल अड्काउने प्रवृत्ति ठीक नभएको शर्माको भनाइ थियो। ‘यहाँ आउने परियोजनाबारे अध्ययनका लागि लामो समय लगाइन्छ। यो ठीक होइन’, उनले भने, ‘विभिन्न विज्ञको रोस्टर तयार गर्ने र परियोजनाअनुसार विज्ञमार्फत छिटोछरितो ढंगले अध्ययन गराईहाल्नुपर्छ। अध्ययनका लागि किन लामो समय लगाउने ? किन धेरै छलफल गर्ने ?’
शर्माले कतिपय परियोजनामा बारम्बार अध्ययनमात्रै हुने गरेको भन्दै त्यस्तो प्रवृत्ति रोक्न निर्देशन दिए। ‘एउकै परियोजनामा किन दुई–तीनपटक अध्ययन हुन्छ। कि त पहिलेको ठीक थिएन भन्नुभर्यो। तर, पहिलेको ठीक वा बेठिक पनि नभन्ने अनि थप अध्ययनहरुमात्रै गराउँदै जाने प्रवृत्तिलाई रोक्नुपर्छ’, उनले भने।
बैठकमा बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले उत्पादनमा आधारित ठूला परियोजना लागि उद्योग लगाउने ठाउँका बारेमा नीतिगत निर्णय गरी विशेष व्यवस्था गर्नुपर्ने बताए। बोर्डमा अटोमोबाइल उद्योग स्थापनाका लागि दक्षिण कोरियाली कम्पनी मोटे«क्सले प्रस्ताव गरेपनि उद्योग स्थापनाका लागि स्थान छनौट गर्न नसकेको उल्लेख गर्दै उनले भने, ‘विशेष आर्थिक क्षेत्र (सेज) मा जानलाई निर्यातमा आधारित हुनुपर्ने मापदण्डले असर गरेको छ। त्यसैले बोर्डमार्फत आउने परियोजनालाई उद्योग स्थापनाका लागि सहजीकरणा गर्न विशेष नीतिगत व्यवस्थाहरु गर्नुपर्ने देखिएको छ।’
मोट्रेक्सलाई उद्योग स्थापनाका लागि बुटवल औद्योगिक क्षेत्रभित्र रहेको बुटवल धागाो कारखानाको जग्गा दिन उपयुक्त देखिएको अध्ययनमा भेटिएको थियो तर सो उद्योेगमा रहेका पुराना मेसनरी प्रतिस्थाापनलगायतका बिषय झन्झटिलो भएको कारण स्थान दिन नसक्ने सरकारले जवाफ दिएको बोर्डले जनाएको छ। अहिले मोतिपुर औद्योगिक क्षेत्रमा उद्योग राख्ने विषयमा छलफल भइरहेको बोर्डले जनाएको छ।
भट्टले लगानीका लागि बोर्डले सहजीकरण र समन्वय गर्ने प्रमुख दायित्व पाएकाले सोही अनुसार कामहरु निरन्तर गर्दै आएको जानकारी दिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago