-भक्तराज रसाइली
काठमाण्डौ । आज मातातीर्थ औंसी अर्थात आमाको मुहार हेर्ने दिन । दुई शब्दको ‘आमा’ शब्द उच्चारण गर्दै हामीलाई आनन्द लाग्छ । ‘ऐया आमा, ऐया भगवान’ भनी हामी दुखःको बेला पनि नाम पुकार्छौं । उनै आमाका बारेमा हामीले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का प्रमुुख कार्यकारी अधिकृतसँग भलाकुसारी गरेका छौं । 

५० वर्षीय चन्द्रसिंह साउदको पुख्र्यौली घर बैतडी जिल्ला सिगास गाउँपालिका वडा नम्बर ९ गैरा हो । २५ वर्ष नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको जागिरे जीवनदेखि सोही कम्पनीमा प्रमुख कार्यकारी अधिकृत समेत बने । हाल नेप्सेमा उनको ४ वर्षे कार्यकालमध्ये करिब २ वर्ष बिताइसकेका साउदले नेप्से अनलाइन ट्रेडिङ सिस्टम सुचारु गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।

नेप्से प्रमुख  साउदकी आमाको नाम हरिनादेवी साउद हो । २०५६ साल माघमा ६८ वर्षकै उमेरमा दम रोगका कारणले बितेकी थिइन् । उनको परिवारमा ४ जना दाजुभाइ र ३ जना दिदीबहिनी रहेकामध्ये साउद कान्छा छोरा हुन् । 

आमा नहुँदा उनले पुख्र्यौली घरमा पाइला नटेकेको दाबी गरे । मूलघर नै नटेकेपछि मन अमिलो हुने भएकै कारणले समेत उनले आफ्नो गाउँघर नगएको सुनाए । ‘यो कुरा आजसम्म मैले कसैलाई भनेको थिइँन।’ उनले थपे ।

साउदले ९ वर्षको उमेरमा गाउँ छाडेका थिए । ९ वर्षको उमेरभन्दा अघि खेतीपाती गर्दा रोपाईँ गर्ने बेलामा र धान चूट्ने बेलामा पूजा गरेर धान माड्ने गरेको र परालको थूम्कोमा खेलेका र आमा भन्ने बित्तिकै धेरै सम्झना आउने गरेको उनी बताउँछन् ।

आमाको याद आउने क्षण सम्झदैं साउदले गौरा पर्व आएको बेला धेरै झझल्कोहरुले सताउने र छरछिमेकमा आमासँग छोरा बसेको देख्दा मन कुटुक्क खाने गरेको भावविव्हल हुँदै भने–‘२ वटा कुराले साह्रै पिरोल्छ मलाई, एउटी मेरी आमा र अर्को कान्छी बहिनी । जिन्दगीमा धेरै ठाउँमा आमा र बहिनीलाई मिस गरिरहेको हुन्छु । म धेरै भन्दिँन, बोल्दिँन तर धेरै पीडा हुन्छ ।’

गौरा पर्वमा आमासँग हात समाउँदै गएको र विभिन्न धार्मिक कार्यक्रममा आमालाई पछ्याउँदै गएको क्षणहरुले आफूलाई पल पल तड्पाइरहने उनी बताउँछन् ।

आमासँग खुशी भएर बेस्सरी सुख बाँडेको पल नभएको तर दुःखी भएको पल भने धेरै भएको उनको अनुभव छ । ‘०३६–३७ सालतिरको कुरा हो, म कक्षा ६मा पढ्दा आमा साह्रै बिरामी हुनुहुन्थ्यो, म धेरै रोएँ ।’ उनले भावुक मुद्रामा भने ।

साउद सानो छँदा बिहे गरेकी उनकी दिदीकोमा गएर घर फर्कदै गर्दा बाटोमा आउँदाआउँदै पानीले छोप्यो । ‘आमासँगै म फर्कदै गर्दा एकजना मात्र अट्ने ओडारमा आमा आफू भिजेर मलाई ओडारमा लगेर राखेको क्षण धेरै याद आउँछ।’ भावुक बनेका साउदले रुञ्चे स्वरमा भने ।

एसएलसी पास गर्दा आफ्नी आमा असाध्यै खुशी भएकी उनले सुनाए । 

परिवारका कसैले पनि एसएलसी पास नगरेको  र गाउँबाटै पहिलो व्यक्ति भएकाले समेत कान्छा छोराले इज्जत धानेको भन्दै आमा खुशी भएको उनले सुनाए ।

अरु आमासँग तुलना गर्न गाह्रो भएको उल्लेख गर्दै साउदले आमालाई आफूले मिहिनेती र सहनशील व्यक्तित्वका रुपमा चिनेको बताए । 

गाउँघरका अन्य परिवारमा पाहुना आउँदा झर्कोफर्को गरेको चाल पाएका उनले पाहुनाको आदरसत्कारमा आफ्नी आमा पोख्त रहेको र यो गुण आफूमा पनि सरेको बताए। आमामा सबैलाई मिलाएर राख्ने नेतृत्व क्षमता समेत रहेको र त्यसको गुण आफूमा पनि सरेको दाबी गरे ।

निरन्तर निःस्वार्थ मिहिनेत गर्नुपर्ने जीवन मन्त्र सिकेको बताउँदै साउदले आमामा भएको सहनशील, सबैको भलो सोच्नुपर्ने गुणहरु आफ्नी आमाबाट आफूमा सरेको सुनाए । 

‘आमा सबै हो, धरती हो’ भन्न रुचाउने उनले आमा पहिलो पाठशाला भएको बताए । आमाछोरा बीच अमर सम्बन्ध रहने उल्लेख गर्दैै आमाबाटै मिहिनेत, संस्कार र अनुशासन सिकाउने गुरुआमा र छोराछोरीको भलो सोच्ने व्यक्तित्व भएको साउदको बुझाइ छ ।

‘आज जुन ठाउँमा छु त्यो देखाउन पाएको भए हुन्थ्यो भन्ने लागिरहन्छ ,यद्यपि आमा भने मलाई बिजनेसमेन बनाउन इच्छा राख्नुहुन्थ्यो ।’साउदले भने–‘मलाई आमाले चन्दरे भनेर बोलाउनु हुन्थ्यो ।’ 

काठमाण्डौमा रहँदा ०५३/५४ ताका एकपटक उनले आमासँग आमाको मुख हेर्ने दिन मनाएको विगत सम्झदै मातातीर्थ औंशीमा आमाको फोटोमा पूजा गर्ने गरेका छन् । ‘पीपलको रुखमा धूपबत्ती समेत बाल्ने गरेको छु।’ साउदले भने ।

हिजोआज  मानिसहरु स्वार्थी बन्दै गएका र बिना मिहिनेत विन्डफल खाने बानीले मात चढ्न थालेको उनको आरोप छ । सहरीकरणसँगै देखावटीपनले समेत प्राथमिकता पाएका कारण बुढेसकालमा आफ्नो व्यवस्थापन आफैं गर्नुपर्ने बाध्यतात्मक अवस्था सिर्जना हुँदै गएकोमा उनी दिक्क छन् ।

ठूलालाई सम्मान र सानालाई माया गर्ने पद्धति सुधार्नुपर्ने बताउँदै उनले दोष देखाउन भन्दा आत्मशुद्धीकरण गरेमा आमाप्रतिको असली मायाप्रेम र सम्मान कायम हुने विचार राखे ।