काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले आर्थिक वर्ष २०७९–८०को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा कम्पनीले १ अर्ब ३८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४४.५२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ९५ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीले वित्तीय आम्दानी, लाभांश आम्दानी र अन्य आम्दानी गरी कुल २ अर्ब १७ करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो कुल आम्दानी १ अर्ब ५५ करोड रुपैयाँमा सीमित थियो। यो हिसाबले आम्दानी पनि ४०.१३ प्रतिशतले बढेको छ। 

चुक्तापुँजी २२ अर्ब ७७ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भमा १ अर्ब ९१ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ६५ करोड रुपैयाँ थियो। रिजर्भमा १५.७३ प्रतिशतले बढेको छ। 

समीक्षा अवधिमा कम्पनीको ईपीएस पनि बढेर ६.०८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ४.६२ रुपैयाँ थियो। पीई रेसियो ३०.२७ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०८.४० रुपैयाँ रहेको छ।