काठमाण्डौ । चालू आर्थिक वर्ष २०८०/ ०८१ को सुरुवाति पाँच महिनासम्ममा देशको व्यापार घाटा ५ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।

भन्सार विभागले आइतबार प्रकाशित गरेको तथ्यांक अनुसार साउनदेखि मंसिर महिनासम्मको अवधिमा देशको कुल व्यापार घाटा ५ खर्ब ७९ अर्ब १५ लाख २९ हजार रुपैयाँ पुगेको छ । 

जुन गत वर्षको सोहि अवधिको तुलनामा ३.०९ प्रतिशतले कम हो । गत आर्थिक वर्ष २०७९/८० को सुरुवाती पाँच महिनाको अवधिमा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख ४८ हजार रुपैयाँ व्यापार घाटा थियो । 

देशको आयात र निर्यात दुवैमा गिरावट आएसँगै व्यापार घाटा समेत घटेको छ । भन्सार विभागका अनुशार समीक्षा अवधिमा कुल ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४ हजार रुपैयाँ आयात भएको छ ।

जुन गत आर्थिक वर्षको  सोहि अवधिको तुलनामा ३.३९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको साउनदेखि मंसिर महिनासम्मको अवधिमा देशमा ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख ५० हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको तथ्यांकले देखाएको छ । 

यस्तै चालू आवको साउनदेखि मंसिरसम्म कुल निर्यात समेत ६.०९ प्रतिशतले घटेको छ । यो अवधिमा निर्यात ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपैयाँ छ ।

गत आर्थिक वर्षको सोहि अवधिमा देशको कुल निर्यात ६७ अर्ब ३० करोड ४५ लाख २ हजार रुपैयाँ थियो । यस्तै आयात निर्यात अनुपात १०.१६ छ । यो अनुपात गत आर्थिक वर्षको मंसिरसम्म ९.८८ थियो ।