काठमाण्डौ । नेपालमा उत्पादित सिमेन्टहरु पछिल्लो समय गुणस्तर कायम गर्ने विषयमा फेल हुन थालेका छन्। 

यस्तै लापरबाही गर्ने चारवटा सिमेन्टको नेपाल गुणस्तर चिन्ह(एनएस) नेपाल गुणस्तर तथा नापतौल विभागले स्थगन गरेको छ । 

यी चारवटा सिमेन्ट उद्योगले उत्पादन गरेका सिमेन्ट नेपाल गुणस्तर अनुसार नभएको निश्कर्ष निकाल्दै एनएस स्थगनको निर्णय गरिएको विभागले एक विज्ञप्ति जारी गरी जनाएको छ । 

नापतौल विभागका अनुसार आरएमसी सिमेन्ट, विशाल सिमेन्ट, इन्टरनेशनल सिमेन्ट र हिमालयज सिमेन्टको एनएस स्थगन गरिएको हो । 

विभागका अधिकारीहरुका अनुसार विशालको पीपीसी सिमेन्टमा एमजिओ ६ दशमलब ४ प्रतिशत भेटिएको छ। यो भनेको बढी हो । 
गुणस्तर मापदण्ड अनुसार एमजिओ ६ प्रतिशत हुनुपर्छ । 

यस्तै, इन्टरनेशनल सिमेन्टको ओपिसी ब्राण्डमा ६ प्रतिशत एमजिओ पाइएको छ। ओपीसीमा एमजीओ ५ प्रतिशत हुनुपर्छ । यो सिमेन्टमा आइआर(इन्स्लोबल रेसिड्यू)को मात्रा पनि ४.९ प्रतिशत पाइएको छ। आइआरको मापदण्ड २ प्रतिशतसम्म हुनुपर्छ ।

यसैगरी, आरएमसी सिमेन्टको ‌ओपिसी ब्राण्डको गुुणस्तर त झनै दयनीय देखिएको छ । आरएमसीको ओपीसीमा एमजिओ ७.०२ प्रतिशत पाइएको छ।

हिमालयज सिमेन्टको पीपीसी ब्राण्ड त झनै प्रयोग नै गर्न नमिल्ने भेटिएको छ । यो कम्पनीको पीपीसी ब्राण्डमा २ प्रतिशत हुनुपर्ने आइआर २९ दशमलब ३ प्रतिशत पाइएको विभागले प्रष्ट्याएको छ ।

विभागले यसअघि यूनाइटेड सिमेन्ट, होङ्सी सिमेन्ट र वृज सिमेन्ट पनि गुणस्तर मापदण्ड अनुसार नभएका भन्दै १५ दिने स्पष्टीकरण सोधिसकेको छ । ती सिमेन्ट कम्पनीको एनएस समेत स्थगतको संभावना रहेको अधिकारीहरुले बताएका छन् ।