काठमाण्डौ । नेपाल उद्योग परिसंघको पर्यटन समितिले पर्वतारोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र कान्स फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल नेपाली चलचित्र निर्देशक तथा निर्माता अविनाश विक्रम शाहलाई सम्मान गरेको छ। 

श्रेष्ठले हालै नेपालमा रहेका ८ हजार बढी उचाइका ७ वटा हिमालको सफल आरोहण गरेकी थिइन्। उनले एकै सिजनमा तीनवटा हिमालको पनि सफल आरोण गरेकी थिइन्। 

यस्तै पटकथा र सिर्जनशीलतामा विशेष कुशलता भएका चलचित्र निर्माता शाहले हालै फ्रान्समा सम्पन्न प्रतिष्ठित कान्स फिल्म फिस्टिभलमा लोरी चलचित्रमार्फत स्पेसल मेन्सन अवार्ड जितेका थिए। 

परिसंघको उपाध्यक्षसमेत रहेका पर्यटन समिति सभापति राजबहादुर शाह, समिति सदस्य पम्फा धमला, परिसंघ महानिर्देशक दिपकराज जोशीले उनीहरुको उपलब्धिको प्रशंसा गर्दै सम्मान गरे। उनीहरुको यो सफलताले नेपालको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्न गएको परिसंघको विश्वास छ।