काठमाण्डौ । विश्व बैंकले नेपाललाई विश्वकै तेश्रो तीव्र आर्थिक वृद्धि हासिल गरिरहेको मुलुक हुने प्रक्षेपण गरेको छ । विश्व बैंकको तथ्यांकमा आधारित रहेर काम गर्ने वल्र्ड इकोनोमिक फोरमले सन् २०१७ को अन्तसम्ममा नेपालको आर्थिक वृद्धि दर ७.५० प्रतिशतको उचाई चुम्ने प्रक्षेपण गरेको हो । नेपालले हासिल गर्न लागेको यो उच्च वृद्धि २३ वर्षकै सबैभन्दा बढी हो ।

वल्र्ड बैंकका अनुसार सन् २०१५ को महाभूकम्पपछि तीव्र भएको पुननिर्माण कार्य लगायतका आर्थिक गतिविधिले नेपालको अर्थव्यवस्थामा आमूल सुधार भएको छ । 

नेपाल लगायत दक्षिण एशियामै पछिल्लो समय पर्याप्त वर्षा हुँदा समेत आर्थिक वृद्धिदर माथि पुुग्न सहयोग भएको वल्र्ड बैंकको दाबी छ । नेपालको अर्थतन्त्र कृषिमा आधारित छ र राम्रो पानी पर्दा अन्न उत्पादनमा वृद्धि भई आर्थिक वृद्धिदरमै अनपेक्षित सुधार भएको देखिएकोछ । विश्व बैंकका अनुसार सन् २०१५ मा भारतले नेपालमाथि लगाएको नाकाबन्दीका कारण यहाँको अर्थतन्त्र दयनीय बनेको थियो, तर जब नाकाबन्दी खुल्यो र त्यसपछि सबै आर्थिक सूचकहरु चमात्कारिक ढंगले सुधारको बाटोतर्फ उन्मुुख भएको रिपोर्टमा उल्लेख छ ।

विश्व बैंकको सूचिमा तीव्र आर्थिक वृद्धि भइरहेको विश्वका मुलुकहरुको पहिलो नम्बरमा इथोपिया रहेको छ, जसको आर्थिक वृद्धिदर ८.३० प्रतिशत हुने प्रक्षेपण गरिएको छ । दोश्रो नम्बरमा उज्वेकिस्तान रहेको छ, जसको प्रक्षेपित वृद्धिदर ७.६ प्रतिशत रहेको छ । भारत नेपाल भन्दा पछाडि परेको छ । भारतको वृद्धिदर ७.२ हुने प्रक्षेपण गरिएको छ । भारतसँगै ताञ्जेनियाको वृद्धिदर समेत ७.२ प्रतिशत नै हुने विश्व बैंकको प्रक्षेपण छ । 

यस्तै, लाओस, कम्बोडिया, म्यानमार, फिलिपन्स लगायतका मुलुकहरु तीव्र आर्थिक वृद्धिदर हासिल गर्ने टप टेनको सूचिमा अटाएका छन् । 

विश्व बैंकले सन् २०१८ का लागि भने नेपालको आर्थिक वृद्धिदर ५.५० प्रतिशत हुने प्रक्षेपण गरेको छ । भौतिक पूर्वाधारको तीव्र विकास, राष्टिय गौरवको आयोजनाको निर्माण तथा कृषि क्षेत्रमा आधुनिकीकरणसँगै हुने उत्पादन वृद्धि लगायतका कारणले सन् २०१८ मा नेपालको वृद्धि अझ माथि हुनसक्ने समेत देखिएको बताइएको छ ।