काठमाण्डौ । सरकारले शनिवार आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । 

बजेटको पूर्वसन्ध्यामा आर्थिक सर्वेक्षण सार्वजनिक भएको हो । 

आर्थिक सर्वेक्षणमा समेटिएका मुख्य विषयहरु यस्ता छन्:

हरेक नेपालीको थाप्लोमा ६३३१० रुपैयाँ ऋण
अर्थमन्त्री जनार्दन शर्माले शनिवार प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षणकाअनुसार नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ । यस आधारमा हरेक नेपालीको भागमा ऋणको अंश ६३ हजार ३१० रुपैयाँ पुगेको छ ।

आर्थिक सर्वेक्षण २०७८\७९ अनुसार फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको छ । यसलाई नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जनामा भाग गर्दा प्रतिव्यक्ति ऋणको भार ६३ हजार ३१० रुपैयाँ पर्न जान्छ ।

फागुन मसान्तसम्म आन्तरिक ऋण ८ खर्ब ६३ अर्ब १९ करोड र बाह्य ऋण ९ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँ रहेको छ । यसै वर्षको असार मसान्तसम्म सार्वजनिक ऋण १७ खर्ब ३७ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो । सरकारले यस वर्ष फागुन मसान्तसम्म ८९ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ ।

प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब रुपैयाँ बढ्यो
चालु आर्थिक वर्षको फागुनसम्ममा देशमा प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब रुपैयाँ बढेको छ ।

आर्थिक वर्ष २०७८\०७९ को फागुनसम्ममा खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ३० करोड पुगेको अर्थ मन्त्रालयले जनाएको छ । गत वर्ष यस अवधिमा यस्तो लगानी १० अर्ब १८ करोड रुपैयाँ मात्रै थियो ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म प्रत्यक्ष वैदेशिक लगानी दायित्व १ खर्ब ९८ अर्ब ५२ करोड रहेकोमा ०७८ असारसम्म यस्तो दायित्व २ खर्ब १८ अर्ब ३ करोड कायम भएको छ ।

यस्तै आर्थिक वर्ष २०७८\०७९ को फागुनसम्म ८ अर्ब ६८ करोड वैदेशिक लगानीको लाभांश भुक्तानीको स्वीकृति प्रदान गरिएको छ ।

प्रतिव्यक्ति आय १३८१ डलर पुग्ने
आर्थिक वर्ष २०७८\७९ मा नेपालीको प्रतिव्यक्ति आय १३८१ अमेरिकी डलर पुग्ने अनुमान सर्वेक्षणमा समावेश गरिएको छ । 

यो अघिल्लो आर्थिक वर्षको तुलनमा १०.८ प्रतिशतले बढी हो। आव २०७७÷७८ मा प्रतिव्यक्ति  कुल राष्ट्रिय आय १२४६ डलर थियो। 

यस्तै, प्रतिव्यक्ति राष्ट्रिय खर्चयोग्य आय भने चालु आर्थिक वर्षमा १६८३ डलर पुग्ने अनुमान छ।

प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन (पर क्यापिटा जीडीपी) पनि अघिल्लो वर्षको बाट १२.३ प्रतिशतले बढेर एक लाख ६४ हजार पाँच सय ९८ रुपैयाँ पुग्ने अनुमान गरिएको छ । अघिल्लो वर्ष यो एक लाख ४६ हजार पाँच सय २१ रुपैयाँ थियो।

कुल ग्राहस्थ उत्पादनसँग लगानीको अनुपात ३७.३ प्रतिशत पुग्ने अनुमान सर्वेक्षणले प्रस्तुत गरेको छ। गत आवमा यो ३५.९ प्रतिशत थियो।

यो आर्थिक वर्षको अन्त्यसम्ममा उपभोक्ता मूल्यमा नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँको पुग्ने उल्लेख गरिएको छ। प्रदेशगत रुपमा यसमा सबैभन्दा ठूलो हिस्सा राजधानी शहरसमेत रहेको बागमती प्रदेशको (३६.९ प्रतिशत) र सबैभन्दा कम कर्णाली प्रदेशको (४.१ प्रतिशत) रहने जनाइएको छ।

२.२८ खर्ब रुपैयाँको लगानी स्वीकृत
सर्वेक्षणकाअनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा २ खर्ब २८ अर्ब रुपैयाँको लगानी स्वीकृत भएको छ। 

फागुनसम्ममा दर्ता भएका कम्पनीको संख्या २ लाख ८३ हजार ३ सय ५८ रहेका छन्।

प्रदेशगत रुपमा बागमतीमा सबैभन्दा बढी ७०.७ प्रतिशत कम्पनी दर्ता भएका छन्। सबैभन्दा कम कर्णाली प्रदेशमा १.२ प्रतिशत कम्पनी दर्ता भएका छन्।

२२ संस्थान नाफामा, १९ घाटामा
सर्वेक्षणकाअनुसार नाफामा सञ्चालित २२ संस्थानको खुद नाफा ४०.३० प्रतिशतले घटेको छ भने नोक्सानीमा सञ्चालित १९ संस्थानको खुद नोक्सानी ३.६१ प्रतिशतले बढेको छ। 

आर्थिक वर्ष २०७७\७८ मा अस्तित्वमा रहेकामध्ये २२ संस्थान नाफा आर्जन गर्न सफल भएका छन् भने १९ संस्थानले घाटा ब्यहोरेका छन्।

सर्वेक्षणमा राखिएको सार्वजनिक संस्थानको बार्षिक स्थिति २०७९ अनुसार, आर्थिक वर्ष २०७६\७७ मा संस्थानको कुल सञ्चालन आय ४ खर्ब २८ अर्ब ७१ करोड ३४ लाख रहेकोमा आर्थिक वर्ष २०७७\७८ मा १.५१ प्रतिशतले वृद्धि भएर ४ खर्ब ३५ अर्ब १७ करोड ३९ लाख पुगेको छ। 

गत आर्थिक वर्षको तुलनामा सार्वजनिक संस्थानको खुद नाफामा ४५.४२ प्रतिशतले कमी आएको छ। आर्थिक वर्ष २०७७\७८ मा २६ अर्ब ३५ करोड ८८ लाख पुगेको छ। 

आर्थिक वर्ष २०७७\७८ मा जम्मा ६ अर्ब ७२ करोड १४ लाख लाभांश प्राप्त भएको छ। यो रकम अघिल्लो वर्षको तुलनामा ५२.३३ प्रतिशतले कम हो।
आर्थिक वर्ष २०७७\७८ मा सञ्चित नाफा गत आर्थिक वर्षको तुलनामा ३.३५ प्रतिशतले वृद्धि भई १ खर्ब १३ अर्ब ५६ करोड ५९ लाख पुगेको छ।

सञ्चित नोक्सानी गत आर्थिक वर्षको तलनामा ३६.३६ प्रतिशतले कमी आई २१ अर्ब ७८ करोड ६६ लाख रुपैयाँ कायम भएको छ।

आर्थिक सर्वेक्षणको पूर्ण पाठ यस्तो छ: