काठमाण्डौ । अबको केहीबेरमै अर्थ मन्त्रालयले आर्थिक विधेयक–२०८०को बुँदा नं. २९ मा देखिएको समस्यालाई सम्बोधन हुने गरी प्रेस विज्ञप्ति जारी गर्ने भएको छ। 

आज अर्थ मन्त्रालयमा आन्दोलनरत लगानीकर्ता र सरकारबीच भएको छलफलमा यस्तो जानकारी दिइएको हो। छलफलमा अर्थमन्त्री डा प्रकाशशरण महतले पुँजीबजारमा लिइँदै आएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर व्यक्तिका लागि अन्तिम कर हुने बताएका छन्। 

अर्थमन्त्रीको प्रतिबद्धताबमोजिम बुँदा नं. २९ मा देखिएको समस्यालाई सम्बोधन गर्ने हिसाबले प्रेस विज्ञप्ति जारी गर्न लागिएको छलफलमा सहभागी लगानीकर्ता नयन बास्तोलाले बताए। ‘अब केहीबेरमा प्रेस स्टेटमेन्ट जारी हुँदैछ, त्यसपछि सेयर कारोबार पूर्ण रुपमा खुला हुनेछ।’

यसअघि आन्तरिक राजश्व विभागले पुँजीगत लाभकरका विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न सकेको थिएन। कहिले पटके त कहिले प्राकृतिक व्यक्ति भनेर पुँजीगत लाभकरका विषयमा स्पष्ट पार्न सूचना जारी गरेको थियो। 

आन्दोलनरत लगानीकर्ताहरुले भने पुँजीबजारमा ५ र ७.५ प्रतिशत नै अन्तिम कर हुनुपर्ने र आर्थिक विधेयक २०८० को २९ नं. बुँदा खारेज हुनुपर्ने माग गर्दै आएका छन्। उनीहरुले आफ्नो माग पूरा नहुन्जेलसम्म बजार सञ्चालन हुन नदिने भनेर आज बिहान सबै ब्रोकर हाउसमा तालाबन्दी पनि गरिदिएका छन्। 

उता सबै ब्रोकर हाउसमा तालाबन्दी गरिए पनि नेप्सेको कारोबार प्रणाली भने खुलै रहेको छ। केही ब्रोकर हाउसबाट छिटफुट कारोबार भइरहेको छ। अर्थ मन्त्रालयबाट प्रेस स्टेटमेन्ट जारी भएसँगै पूर्ण रुपमा कारोबार खुला हुने बताइएको छ।