काठमाण्डौ । नेपाल उद्योग परिसंघले मुलुकभित्र आर्थिक मन्दिका कारण सर्वसाधारण, सरकार र उद्योगी लगानी तथा खर्च गर्न डराइरहेको उल्लेख गरेको छ ।

समसामयिक अर्थतन्त्रका विषयमा आर्थिक पत्रकार समाज (सेजन)ले बिहीवार आयोजना गरेको कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले यस्तो बताएका हुन्  ।
मुलुकको अर्थतन्त्र जटिल अवस्थामा रहेकाले सुधारका लागि सबैको प्रयासको खाँचो रहेको उनले बताए ।

विदेशी मुद्रा सञ्चितिमा दबाब पर्दा लिइएको नीति, कोभिड–१९ को असरबाट बाहिर निस्कन नपाउँदै प्रभावित क्षेत्रलाई दिइएको छुट तथा सुविधा एकै पटक हटाउँदा अर्थतन्त्र आजको अवस्थामा आइपुगेको उनको तर्क थियो ।


आर्थिक मन्दीका कारण उद्योग व्यवसायी, सरकारलगायत सर्वसाधारण समेत खर्च गर्न डराएका कारणले माग घटेको भन्दै उनले अर्थतन्त्र चलायमान बनाउन बजारमा पैसा पठाउनुपर्ने बताए ।

उनले अर्थतन्त्रलाई थप जटिलतामा जानबाट रोक्न समयमै सुधार गरिनुपर्ने बताए । ‘अर्थतन्त्रलाई डीप डिप्रेसनमा जानबाट रोक्न समयमै सुधार गर्नुपर्छ, ढिलो गरी गरिने सुधारले काम नगर्न पनि सक्छ’, उनले भने ।

अर्थतन्त्रलाई छिट्टै सुधारतर्फ लैजान सरकारले पूँजीगत खर्च गर्नुपर्ने, निर्माण व्यवसायीहरुलाई दिनुपर्ने भुक्तानी दिनुपर्ने उनले बताए ।

नेपाल राष्ट्र बैंकले प्रभावित क्षेत्रका लागि कर्जाको पुनर्संरचना र पुनर्कर्जाको पैसा दिनुपर्ने उनको भनाइ छ ।