भक्तपुर । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले आर्थिक समृद्धिका लागि उद्यमशीलता विकास अपरिहार्य रहेको बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघ र भक्तपुर उद्योग वाणिज्य संघको आयोजना तथा जीआईजेड आरएएसको प्राविधिक सहयोगमा मंगलबार सञ्चालित करसम्बन्धी तालिमको उद्घाटन गर्दै उपाध्यक्ष ढकालले महासंघले युवा तथा महिला उद्यमशीलता विकासका लागि काम गर्दै आएको बताए । 

उनले वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढिरहेकोमा चिन्ता व्यक्त गर्दै महासंघले देशका युवा वर्गलाई उद्यमशील बन्न प्रोत्साहित हुने विभिन्न क्रियाकलापहरुमा जोड दिएको पनि बताए ।

उनले देशको आर्थिक उत्थान र विकासका लागि निजी क्षेत्रको अहम् भूमिका रहेको बताए । संघका अध्यक्ष शिवप्रसाद मानन्धरले करसम्बन्धी राम्रो जानकारी नहुँदा उद्योगी, व्यवसायीहरुले विभिन्न समस्या भोग्नुपरिहेको बताए ।

कर प्रणालीबारे स्पष्ट हुन सकेको खण्डमा कानूनसम्मत तरिकाले उद्योग व्यवसाय सञ्चालन हुने उनको भनाइ थियो ।  तालिममा प्रशिक्षकहरुले आयकर दाखिला, आयकर विवरण बुझाउने, टीडीएस कट्टी, बजेटमा भएका करसम्बन्धी परिवर्तन, आर्थिक ऐन तथा नीतिमा भएका करसम्बन्धी व्यवस्थालगायतका विषयमा जानकारी दिएका थिए ।

तालिममा ७५ जना प्रशिक्षार्थीको सहभागिता थियो ।