काठमाण्डौ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक स्थायित्वका  लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताएका छन् । 

भक्तपुर चेम्बर अफ कमर्सको छैटौं साधारण सभा एवं तेस्रो अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष मल्लले आर्थिक स्थायित्वका लागि सरकार र निजीक्षेत्र बीचको सहकार्य महत्त्वपूर्ण रहेको बताएका हुन् । मुलुकमा पछिल्लो समय आर्थिक सूचकहरू सकारात्मक भए पनि निजी क्षेत्र र आम सर्वसाधारणले त्यसको व्यवहारिक अनुभूति गर्न नसकेको उनको भनाइ छ ।

मुलुकमा औद्योगिक एवं व्यावसायिक वातावरण बन्न नसक्नुको कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको भन्दै उनले सरकारले गर्ने खर्चमा मितव्ययिता अपनाउन आवश्यक रहेकोमा जोड दिए ।

बजेटमा महत्त्वाकांक्षी कार्यक्रमहरू घोषणा भए पनि कार्यान्वयन योजना प्रभावकारी हुन नसक्दा समस्या भएको अध्यक्ष मल्लको भनाइ छ । सरकार फेरिएसँगै नीतिहरू पनि फेरिनाले अर्थतन्त्र सधैं अस्थिर हुने गरेको अध्यक्ष मल्लले बताए ।

अर्को प्रसंगमा अध्यक्ष मल्लले भक्तपुरलाई अन्तरराष्ट्रिय पर्यटक आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिए ।