काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओमा तेश्रो दिनसम्म १५ गुणा बढी आवेदन परेको छ । 

कम्पनीको आइपीओमा तेश्रो दिन साँझ ६ बजेसम्म २ लाख ५१ हजार ५९७ आवेदकबाट ९४ लाख २१ हजार ९४० कित्ताका लागि आवेदन परेको सिडिएसीले जनाएको छ । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरको कुल ६ लाख ७४ हजार कित्ता आइपीओ निश्कासन गरेको हो ।

आइपीओमा आवेदन दिने भोलि(माघ २२ गते) अन्तिम दिन हो ।

कुल निश्कासन हुने आइपीओमध्ये १० हजार ३ सय ७० कित्ता आशा लघुवित्तका कर्मचारीका लागि, ३३ हजार ७ सय कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको ६ लाख २९ हजार ९ सय ३० कित्ता सर्वसाधारण लगानीकर्ताका लागि सुरक्षित गरिएको छ। 

यसको अर्थ दोश्रो दिन ५ बजेसम्म मागको तुलनामा १०।१४ गुणा बढी आवेदन परेको हो ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ३७० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । तर, लघुवित्तमा लगानीकर्ताको अचाक्ली आकर्षण हुने भएको र गोलप्रथामार्फत सेयर बाँडफाँड गर्दा धितोपत्रको सार्वजनिक निश्कासन निर्देशिका अनुसार न्यूनतम १० कित्ता मात्र पर्ने भएकोले कम्पनीको आइपीओमा १० कित्ताका लागि मात्र आवेदन दिए पुग्छ । यसको अर्थ साथमा १ हजार रुपैयाँ हुनेले समेत यो कम्पनीको आइपीओ भर्न पाउनेछन् । 

न्यूनतम १० कित्ताका लागि मात्र आवेदन दिन पाउने व्यवस्थाले खाजा खर्च कटाएर विद्यार्थी वर्गले समेत यो कम्पनीको आइपीओमा लगानी गर्न सक्ने देखिन्छ । 

यो कम्पनीले आइपीओ निश्कासनको माग गर्दै भदौ १७ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो । बोर्डले पुस २९ गते निश्कासन अनुमति दिएको हो । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम प्रभू क्यापिटलले गर्नेछ । 

आइपिओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपि आइपिओ ग्रेड ४’ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउँछ।

आइपीओ निश्कासनपछि कम्पनीका सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ३२.५० प्रतिशत पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २६ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

नूवाकोटमा मुख्य कार्यालय रही स्थापना भएको आशा राष्ट्रिय स्तरको लघुवित्त संस्था हो ।