काठमाण्डौ । सर्वसाधारणको अचाक्ली आकर्षण भई मागेभन्दा झण्डै १० गुणा बढी आवेदन परेको आशा लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । 

बिक्री प्रबन्धक प्रभू क्यापिटलका अनुसार आइपीओको बाँडफाँड शुक्रबार बिहान हुने भएको हो । 

क्यापिटलका अनुसार आशाको आइपीओमा कुल ३ लाख ९ हजार ७८२ आवेदन परेको छ । तीमध्ये विभिन्न कराण ६७७ वटा आवेदन रद्ध भई बाँकी रहेका ३ लाख ९ हजार १०५ आवेदकमध्ये गोलाप्रथाबाट ६२ हजार ९९३ जनाले मात्र १० कित्ताको दरले सेयर पाउनेछन् । यसको अर्थ २ लाख ४६ हजार ११२ आवेदकको हात रित्तो हुनेछ ।

कुल निश्कासन हुने आइपीओमध्ये १० हजार ३ सय ७० कित्ता आशा लघुवित्तका कर्मचारीका लागि, ३३ हजार ७ सय कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको ६ लाख २९ हजार ९ सय ३० कित्ता सर्वसाधारण लगानीकर्ताका लागि सुरक्षित गरिएको छ। 

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ३७० कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।

कम्पनीको आइपीओ माघ १८ देखि २२ गतेसम्म खुलाइएको थियो । 

आइपीओ निश्कासनपछि कम्पनीका सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ३२.५० प्रतिशत पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २६ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

नूवाकोटमा मुख्य कार्यालय रही स्थापना भएको आशा राष्ट्रिय स्तरको लघुवित्त संस्था हो ।