काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबारको बजार आशा जगाउँदै बन्द भएको छ । यो दिन नेप्से परिसूचकमा सुधारसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा झण्डै दोब्बरले बढोत्तरी भएको हो । 

वार्षिक नवीकरण शुल्क नबुझाएको भन्दै ८० भन्दा बढी सूचिकृत संस्थाहरुलाई कारबाही गरी तिनीहरुको सेयर कारोबार स्थगित भएसँगै सुस्ताएको बजारमा कतिपय कम्पनीहरुले शुल्क तिरेपछि कारोबार फुकुवा भएसँगै थोरै आशाउन्मुख बनेको हो । 

यो दिन नेप्से परिसूचक  ६.७३ अंकले बढेर ११४९.३४ को विन्दूमा फर्किएको छ भने कारोबार रकम बढेर ३२ करोड माथि पुगेको छ । 

यो दिन ठूला र बलिया कम्पनीको सेयरमा खरीद चाप देखिएको छ । जसकारण सेन्सेटिभ इण्डेक्स १.८८  अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.४५ अंकको बढोत्तरी भएको छ ।

यो दिन निर्जीवन बिमा समूहको सूचक ८.१४ अंकले घटे पनि बाँकी सबै समूहको उपसूचकमा हरियाली छाएको छ । 

बैंकिङ समूह ६.६३ अंकले बढेको यो दिन होटल समूहमा १२.४६ अंक, विकास बैंक समूहमा ५.८ अंक, जलविद्युत समूहमा १.५७ अंक, बित्त समूहमा ५.७१ अंक, उत्पादन तथा प्रशोधन समूहमा १६.५३ अंक, माइक्रोफाइनान्स समूहमा ६.३८ अंक, जीवन बिमा समूहमा २१.५१ अंक, म्युचुअल फण्ड समूहमा ०.०३ अंक र अन्य समूहमा ८.५१ अंकको बढोत्तरी भएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन नेप्सेमा १५५ कम्पनीको १२ लाख ४ हजार १५ कित्ता सेयर ३२ करोड ७६ लाख ३२ हजार २५८ रुपैयाँमा किनबेच भएको छ । 

माछापुच्छ्रे बैंकले ७ करोड ११ लाख बढीको कारोबार गरेको यो दिन एनआइसी एशिया बैंकले ३ करोड ४५ लाख, प्रभू बैंकले १ करोड ९६ लाख, सिद्धार्थ बैंकले १ करोड १३ लाख, रसुवागढी हाइड्रोले १ करोड १३ लाख, नेपाल बैंकले १ करोड ११ लाख, मेगा बैंकले १ करोड ३ लाख, नेको इन्स्योरेन्सले ८१ लाख, एनसीसी बैंकले ८० लाख र एभरेष्ट बैंकले ७३ लाख बढीको कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट लिमीटेडका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ८.३३ प्रतिशतले बढ्यो । 

अरुण काबेली पावर लिमीटेडका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ६ प्रतिशतको हाराहारीमा घट्यो ।