काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बैंक तथा वित्तीय संस्थाहरुको आस्वा सदस्यता नवीकरणमा चरम लापरबाही गरेको खुलासा भएको छ। जिम्मेवारी पाएका अधिकारीबाटै लापरबाही भएपछि अहिले सेबोनभित्रै खैलाबैला मच्चिएको छ। 

लाखौँ लगानीकर्ता मर्कामा पर्ने गरी आस्वा सदस्यता नवीकरणमा सेबोनले गरेको निर्णय चरम लापरबाहीको पराकाष्टा रहेको स्वयं सेबोनकै अधिकारीहरु बताउँछन्। ‘जिम्मेवार व्यक्तिहरु मुलुकबाहिर रहनु र त्यही बेला हतारमा अख्तियारी पाएका व्यक्तिले सोचविचार नै नगरी लाखौँ लगानीकर्तामाथि अन्याय गर्दै करिब डेढ दर्जन बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण नगर्नुलाई लापरबाही वा गैरजिम्मेवार कदम भन्नै पर्छ’, सेबोनका एक अधिकारीले भने।

सेबोनले हिजो सूचना निकाल्दै आर्थिक वर्ष २०८०-८१का लागि २४ वटा बैंक तथा वित्तीय संस्थाहरुको मात्र आस्वा सदस्यता नवीकरण भएको जानकारी गराएको थियो। जब कि ५ वटा वाणिज्य बैंक र ३ वटा राष्ट्रियस्तर विकास बैंकसहित डेढ दर्जन बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण नभएको देखिन्छ। 

धमाधम आईपीओ र हकप्रद सेयर जारी भइरहेको बेला सेबोनको यो कदमले लाखौँ लगानीकर्ता रुष्ट बनेका छन्। ‘मेरो खाता भएको बैंकको आस्वा सदस्यता नै रिन्यू भएनछ’, साउदीमा रहेका सुमन शाहीले बिजशालासँगको कुराकानीमा भने, ‘अहिले मेरो सेयरमा भर्न नमिल्ने सूचना आइरहेको छ। हामीलाई आईपीओ भर्नबाट वञ्चित गरिएको छ। यो गैरकानुनी हो।’

त्यसैगरी अर्का लगानीकर्ता मनीष रिजाल आफूले आईपीओमा आवेदन दिन नपाएकोमा आक्रोश पोखे। ‘हामीलाई मेरो सेयर र डिम्याट नवीकरण गर्न पटक–पटक सूचना जारी हुन्छ। तर बैंकहरुकै आस्वा सदस्यता नवीकरण किन यस्तो लापरबाही ? किन सेबोनले बेलैमा सूचना निकालेर बैंकहरुलाई आस्वा सदस्यता नवीकरण गर्न भनेन ?’

आस्वा सदस्यता नवीकरणमा जति दिन ढिलाइ हुन्छ त्यति नै दिन आईपीओमा आवेदन दिने म्याद थप गर्नुपर्ने रिजालको भनाइ छ। ‘केही बैंकबाट आवेदन दिन पाइने र केहीबाट नपाइने व्यवस्था कहीँकतै छैन’, उनले भने, ‘यसमा नियामकले बेलैमा सोचविचार गरोस्।’

सीडीएससीले पनि आज एक सूचना जारी गर्दै आस्वा सदस्यता नवीकरण नभएका बैंक तथा वित्तीय संस्थाहरुलाई धितोपत्र सार्वजनिक निष्कासनमा खरिद आवेदनसम्बन्धी कार्य कार्य गर्न रोक लगाइएको जानकारी गराएको छ। सीडीएससीले आस्वा सदस्यता तत्काल नवीकरण गर्न पनि आग्रह गरेको छ। 

सीडीएससीका एक अधिकारीले पनि यसपालि आस्वा सदस्यता नवीकरणमा सेबोनको गैरजिम्मेवारीपन देखिएको बताए। ‘अघिल्लो वर्ष सेबोनले एक महिनाअघि नै सूचना जारी गरी आस्वा सदस्यता नवीकरण गर्न आग्रह गरेको थियो’, ती अधिकारी अधिकारीले भने, ‘यसपालि सूचना निकालेको पाइएन।’ 

यस विषयमा सेबोनका अधिकारीहरुसँग कुराकानी भइरहेको पनि ती अधिकारीले बताए। ‘छिट्टै निर्णय होला’, ती अधिकारीले भने। 

आस्वा सदस्यता नवीकरण गर्न प्रतिबैंक तथा वित्तीय संस्था २५ हजार रुपैयाँ शुल्क लाग्छ। नयाँ आर्थिक वर्ष सुरु १ महिनाअघिदेखि नै आस्वाद सदस्यता नवीकरण गर्नुपर्ने व्यवस्था पनि रहेको छ। 

यसैगरी तोकिएको समयभित्रै नवीकरण नभएका आस्वा सदस्यता फेरि नवीकरण गर्न नपाउने व्यवस्था सेबोनले गरेको छ। अब नवीकरण नभएका बैंक तथा वित्तीय संस्थाहरुले फेरि नयाँ आवेदन दिएपछि मात्रै आस्वा सदस्यता पाउने व्यवस्था रहेको छ।