भक्तपुर । घर तथा भबन निर्माणमा इँटाको सटामा प्रयोग हुने इको प्यानलको प्रयोगबाट महानगरीय प्रहरी परिसर भक्तपुरको सभाहल निर्माण सम्पन्न गरिएको छ । 

हलुका, भूकम्पप्रतिरोधी तथा छिटो निर्माण सम्पन्न गर्न सकिने इन्टरनेशनल ग्रीन डेभलपर्स प्रालिद्वारा निर्मित गोर्खा इको प्यानलको प्रयोगबाट प्रहरी सभा हल निर्माण सम्पन्न गरिएको हो । 

परिसरको हाताभित्र बनेको बहुउपयोगी हलको सोमबार संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले विशेष समारोहबीच उदघाटन गरे । कुल १९ लाख २९ हजार चार सय १६ रुपैयाँंको लागतमा भबन निर्माण सम्पन्न भएको कार्यक्रममा बताइयो । भबन बनाउनका लागि इन्टरनेशनल ग्रीन डेभलपर्स प्रालिले तीनलाख नौ हजार चार सय १६ रुपैयांँ बराबरको इको प्यानल सहयोग गरेको थियो ।

भबन निर्माण समितिका उपाध्यक्ष विमलराज गोसाईका अनुसार निर्माणका लागि आवश्यक डिजाइनलगायत निर्माण सम्पूर्ण कार्य पनि इन्टरनेशनल ग्रीन डेभलपर्स प्रालिले गरिदिएको थियो । 

इटाको सटामा छिटो निर्माण सम्पन्न गर्न सकिने प्रविधिका कारण केही दिनमै भबन निर्माण सम्पन्न भएको उनले जनाए । भबन बनाउन अन्य विभिन्न संघसंस्था तथा व्यक्तिहरुले पनि सहयोग गरेका उनले जनाए ।