काठमाण्डौ । बजार घटेर न्यून विन्दूमा झरेको बेला राम्रा कम्पनीहरुको सेयर खरीद गर्नतर्फ लगानीकर्ताले मन लगाउँदा साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक(इण्डेक्स) दोहोरो अंकले बढेको छ । परिसूचक बढ्दा कारोबार रकम(टर्नओभर) भने बुधबारको तुलनामा करिब १३ करोडले घटेको छ । 

यो दिन बजार परिसूचक १५.४८ अंकले वृद्धि भई १२२०.२९ अंकको उचाईमा फर्किएको हो । यो दिन व्यापार र अन्य समूहमा झिनो गिरावट भए पनि बाँकी सबै समूहको सूचकमा हरियाली छाएको छ । 

पछिल्लो समय बजार निरन्तर घटिरहेको थियो । यस्तो अवस्थामा बुधबार केही थामिएर लगानीकर्तामा आशा जगाएको बजारले बिहीबार दोहोरो अंकको उकालो यात्रा तय गरेको हो । निरन्तर घटिरहेको बजारमा क वर्गका कम्पनीहरुको सेयर सस्तोमा पाउन थालिएपछि निस्क्रिय भएका लगानीकर्ता समेत केही जागेका बुुझ्न सकिन्छ । सरकारले श्वेतपत्रमार्फत सेयर बजारका केही महत्वपूर्ण समस्याहरुलाई सम्बोधन गर्ने आशामा समेत लगानीकर्ताले खरीदारी बढाएका देखिएको छ । तर, नेप्से परिसूचक दोहोरो अंकले बढ्दो कारोबार रकम चाहि १३ करोडले घट्नु शुुभ संकेत होइन । यस्तो बेलामा लगानीकर्ताले निकै चनाखोपूवर्क खरिदबिक्रीको निर्णय लिनुुपर्छ। 

यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा सुधार भएका कारण सेन्सेटिभ इण्डेक्स ३.४ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.३९ अंकको सुधार देखिएको छ । 

व्यापार समूह ३.०४ र अन्य समूह ०.०३ अंकले घटेका छन् । बाँकी सबै समूह बढेका छन् । 

यो दिन बैकिङ समूह १५.७२ अंक, होटल समूह ८.०६ अंक, विकास बैंक २०.४५, माइक्रोफाइनान्स १९.९९, जलविद्युत ४१.६, बिमा ६६.३५, बित्त समूह ५.६७ र उत्पादनमूलक १०.२३ अंकले बढेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन सबैभन्दा बढी मेगा बैंकको संस्थापक सेयरको कारोबार भयो । यो कम्पनीको ३ करोड ६४ लाख बढीको संस्थापक सेयर किनबेच भएको हो । 

यस्तै, नवील बैंकले १ करोड ८२ लाख, कुमारी बैंकले १ करोड ५९ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ४८ लाख, एभरेष्ट बैंकले १ करोड ३० लाख, इन्भेष्टमेन्ट बैंकले १ करोड २९ लाख, सानिमा बैंकले १ करोड १७ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ९४ लाख, नेपाल बैंकले ८० लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन पनि रादी विद्युत कम्पनीले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्य ९.६३ प्रतिशतले वृद्धि भयो । अपी पावरको सेयर मूल्य ७.३१ र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ७.३० प्रतिशतले बढ्यो ।

यो दिन कावेली विकास बैंकले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य ५.५० प्रतिशतले घट्यो ।