काठमाण्डौ । नागबेली चालमा कुदेको बजारमा उछालको संकेत देखिएको छ । सेयर बजार मापक, नेप्से परिसूचकमा नागबेलीको प्रवृति देखिए पनि ४४.२६ अंकको वृद्धिसहित बजार बन्द भएको हो । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उछालको अवस्था देखिएको छ । 

कारोबार सुरु भएको केही मिनेटसम्म उछालकै प्रवृति देखिए पनि त्यसपछि केही सम्हालिएको थियो । फेरि बढोत्तरी हुँदै बजार ५२ अंकले बढे पनि २ः१५ पछि केही घटेर पुनः बढी बन्द भएको हो ।

बैंक तथा बित्तीय संस्थाहरुमा पछिल्लो समय सहज हुँदै गएको तरलताको अवस्था, बैंकहरुले विदेशी ऋण ल्याउन गरेको पहलसँगै ब्याजदरमा स्थिरता आउने भनी बलियो बन्दै गएको लगानीकर्ताहरुको आशा, पछिल्लो समय केही नरम भई बजार बिस्तार र विकासका लागि सकारात्मक देखिएका अर्थमन्त्रीका केही सकारात्मक सन्देश तथा लगानीकर्तासँग सम्बन्धित संघसंस्थाले बजार सुधारका लागि गरेका प्रयास लगायतका कारणले बजारमा उछालको अवस्था देखिएको हो । योसँगै तेश्रो त्रैमासपछि सरकारको पूँजीगत खर्चमा वृद्धि हुँदै गएको र सूचिकृत कम्पनीहरुको तेश्रो त्रैमाससम्मको रिपोर्ट आएपछि त्यसको प्रभावले बजार तरङ्गित हुने विगतको अभ्यासलाई समेत आँकलन गरी चूपचाप बसेका लगानीकर्ताले समेत बजारमा खरिदारी बढाउँदा केही दिनअघिदेखि उछालको अवस्था देखिएको हो । 

विश्लेषकहरुले बजार परिसूचक(इण्डेक्स) र कारोबार(टर्नओभर) एकसाथ माथि उक्लिनुुलाई भविष्यमा बजारका लागि सुखद संकेत मान्दछन् । आइतबारको बजारको प्रवृतिले समेत आगामी दिनमा बजारमा अझै उछाल आउनसक्ने संकेत गर्दछ । अघिल्लो साताको पछिल्ला दुुई कारोबार दिनमा समेत यही प्रवृति थियो । यो साताको पहिलो कारोबार दिनमै सूचक र कारोबार दुवै बढेपछि बजारमा अझ ठूलो उछाल आउनसक्ने अवस्था देखिएको विश्लेषक दाबी गर्छन् । 

यो दिन बजारमा ‘क’ वर्गका कम्पनीहरुमा सेयर खरिदारी उच्च देखिएको छ । यहीकारण सेन्सेटिभ इण्डेक्समा एकैदिन ९.२ अंकको उछाल देखिएको छ । समग्र कारोबार मापक फ्लोट इण्डेक्समा पनि ३.२६ अंकको बढोत्तरी भएको छ । 

यो दिन बजारका अधिकांश समूहमा उछालको अवस्था देखिएको छ । सबैभन्दा बढी बिमा समूहको सूचकमा उछाल देखिएको छ । यो समूहको सूचक ३५८.१ अंकले वृद्धि भएको छ । यो भनेको ६.१७ प्रतिशतको वृद्धि हो । यस्तै, माइक्रोफाइनान्स समूहमा ८५.६६(६.०८ प्रतिशत) अंकको बढोत्तरी देखिएको छ भने जलविद्युत समूहमा ७२.५६(४.८४ प्रतिशत) अंक, होटल समूहमा ८२.५४(४.५५ प्रतिशत) अंक, बैकिङ समूहमा ३३.२६(२.९७ प्रतिशत) अंकको वृद्धि भएको छ । 

यस्तै, व्यापार समूहमा ७.६ अंक, विकास बैंक समूहमा २४.८८ अंक, बित्त समूहमा १०.०६ अंक, उत्पादनमूलकमा ५२.१३ अंक र अन्य समूहमा १५.९४ अंकको बढोत्तरी देखिएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ७६ कम्पनीका २३ लाख १२ हजार ८ सय ६५ कित्ता सेयर ९१ करोड ७७ लाख ८ हजार ९ सय ५९ रुपैयाँमा किनबेच भएको छ । 

यो दिन सबैभन्दा बढी नवील बैंक लिमीटेडले ३ करोड १४ लाख बढीको कारोबार गर्यो । यस्तै, प्रभू इन्स्योरेन्सले २ करोड ६६ लाख, एभरेष्ट बैंकले २ करोड ४३ लाख, स्ट्याण्डर्ड चार्टर्डले २ करोड ३७ लाख, सानिमा बैंकले २ करोड ३१ लख, एनबी बैंकले २ करोड २५ लाख बढीको कारोबार गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्सले २ करोड १६ लाख, शिखर इन्स्योरेन्सले २ करोड १५ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले २ करोड बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन १० कम्पनीका लगानीकर्ताले पैसा छापे । सूर्योदय लघुवित्त र महुली सामुदायिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । यस्तै, मिथिला लघुवित्त, निर्धन उत्थान बैंक, नेपाल इन्स्योरेन्स, यूनाइटेड इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, अरुण कावेली पावर लिमीटेड र हाम्रो विकास बैंकको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । यो दिन अन्य ६ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भयो । 

यो दिन १४ कम्पनीको सेयर मूल्य भने घट्यो । रादी विद्युत कम्पनीका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ३.४३ प्रतिशतले घट्यो ।