काठमाण्डौ । बजारमा चमक फर्किएको छ । बैंकहरुको तेश्रो त्रैमासिक रिपोर्ट राम्रो आउने अपेक्षाले समेत लगानीकर्ताहरुको मनोबल केही बढेको देखिएको छ । 

केही साताअघि समेत नेप्से परिसूचक हराभरा भई कारोबार रकम ५० करोड माथि पुगेको थियो । त्यसबेला बजार बढोत्तरी निरन्तर हुने एकथरीको अपेक्षा थियो भने कतिपय विश्लेषकहरुले केही समयसम्म करेक्सन चलेर पुनः बढोत्तरी सुरु हुने प्रक्षेपण गरेका थिए । 

केही सातासम्म गिरावट र बढोत्तरीको मिश्रित प्रवृतिबाट अगाडि बढेको बजार केही दिनदेखि भने बढ्न थालेको थियो। बढोत्तरीको यही क्रमलाई निरन्तरता दिंदै नेप्से परिसूचकले मंगलबार १३.७२ अंकको फड्को हानेको छ । 

नेप्से परिसूचक ११६३.४७ को विन्दूमा फर्किएको दिन कारोबार रकम पनि बढेर ५० करोड माथि पुगेको छ । 

यो दिन बजारमा राम्रा कम्पनीको सेयरमा खरीद चाप देखिएको छ । जसका कारण सेन्सेटिभ इण्डेक्स ३.३४ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.०९ अंकको बढोत्तरी देखिएको छ । 

यो दिन दोश्रो बजारमा एकछत्र बोलवाला रहेको वाणिज्य बैंक समूहको सूचक १९.६७ अंक(करिब २ प्रतिशत)ले बढेको छ भने विकास बैंक समूह ३.६१ अंकले बढेको छ । 

जीवन बिमा समूह ३८.८६ अंकले बढेको यो दिन निर्जीवन बिमा समूह भने ६.७६ अंकले घट्यो । 

माइक्रोफाइनान्स समूहको सूचक २.२१ अंकले बढेको यो दिन होटल समूहमा २०.०१ अंक, बित्त समूहमा १.६८ अंक, उत्पादनमूलकमा ८.७३ अंक र अन्य समूहमा ५.६१ अंकको वृद्धि देखियो ।

जलविद्युत समूह यो दिन ३.४८ अंकले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६९ कम्पनीका १८ लाख ९३ हजार १२० कित्ता सेयर ५० करोड ८ लाख ८१ हजार ७३८ रुपैयाँमा किनबेच भए । 

संभावित बोनस सेयर घोषणाका कारण एनसीसी बैंकले सबैभन्दा बढी ४ करोड बढीको कारोबार गर्यो । 

तेश्रो त्रैमासमा केही राम्रो गर्नसक्ने अपेक्षाका बीच एनआइसी एशिया बैंकले ३ करोड ७६ लाख बढीको कारोबार गर्यो ।

एनएमबी बैंकले २ करोड ७१ लाख बढीको कारोबार गरेको यो दिन एनबी बैंकले २ करोड २७ लाख र प्रभू बैंकले २ करोड ६ लाख बढीको कारोबार गरे ।

प्राइम कमर्सियल बैंकले १ करोड ६३ लाख बढीको कारोबार गरेको यो दिन एभरेष्ट बैंकले १ करोड ६२ लाख, सिटिजन्स बैंकले १ करोड ५४ लाख, माछापुच्छ्रे बैंकले १ करोड ३४ लाख र सिभिल बैंकले १ करोड २९ लाख बढीको कारोबार गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन भार्गव विकास बैंकका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ९.४० प्रतिशतले बढ्यो । 

वाणिज्य बैंकमध्ये एनआइसी एशियामा लगानीकर्ताको आकर्षण देखिएको छ । यो कम्पनीको सेयरमूल्य ३.९० प्रतिशतले बढ्यो ।

यो दिन पनि अघिल्ला केही दिनमा झै युनिभर्सल पावरका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्यमा मंगलबार पनि नेगेटिभ सर्किट लाग्यो ।