काठमाण्डौ । सरकारले अब इन्धनमा लाग्दै आएको करमध्ये ५ रुपैयाँ बुढीगण्डकी आयोजनाका लागि छुट्याउने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इन्धनमा लगाउँदै आएको पूर्वाधार विकास करमध्ये प्रतिलिटर ५ रुपैयाँ बुढीगण्डकी आयोजनाका लागि छुट्याउने निर्णय गरेको हो ।

सरकारले आर्थिक वर्ष २०७३/७४ बाट बुढीगण्डकी आयोजना निर्माणका लागि इन्धनमा प्रतिलिटर ५ रुपैयाँ कर लिंदै आएको थियो ।

सरकारले बुढीगण्डकीको सट्टा २०७६ फागुनदेखि पूर्वाधार विकास करको नाममा प्रतिलिटर १० रुपैयाँ संकलन गर्न थालेको थियो ।

 बैठकले पूर्वाधार विकास करको नाममा संकलन गरेकै रकममध्ये ५ रुपैयाँ बुढीगण्डकीलाई पनि छुट्याउने निर्णय गरेको हो ।

यसैगरी, सोही बैठकले निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया सुरु गर्ने भएको छ । बैठकले निजगढ विमानस्थल निर्माणका विषयमा सुझाव दिन गठित विज्ञ समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरुको एक महिनाको पारिश्रमिक भूकम्प पीडित राहत कोषमा दिने निर्णय भएको जानकारी दिइन्।