काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयरको भित्री (इन्साइडर ट्रेडिङ)मा मुछिएका नेपाल हाइड्रो डेभलपर्सका तत्कालीन कार्यकारी अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलाई कारबाही गर्ने निर्णय गरेको छ।

सेबोनको आइतबार बसेको संचालक समितिको बैठकले प्रधानलाई धितोपत्र दर्ता तथा निष्कासन नियमावलीविपरीत कारोबार गरेको ठहर गर्दै नगद जरिवानासहित कारबाही गर्ने निर्णय गरेको हो। 

नेपाल हाइड्रोका तत्कालीन अध्यक्ष प्रधानले आफू पदमा रहँदा नियमावलीविपरीत सेयर बिक्री गरेको बोर्डले ठहर गरेको छ। ‘पदमा रहँदा प्रधानले धितोपत्र ऐनविपरीत नेपाल हाइड्रोमा आफ्नो नाममा रहेको सेयर परिवारको नाममा हस्तान्तरण गरेको खुलेको छ’, सेबोनका प्रवक्ता मुक्तिनाथ श्रेठले भने, ‘त्यसैले धितोपत्र दर्ता तथा निष्कासन नियमावलीविपरीत कारोबार गरेको पाइएकोले उनलाई जरिबानासहित कारबाही गरिएको हो।’

प्रवक्ता श्रेष्ठका अनुसार प्रधानलाई धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०१ को उपदफा ७ अनुसार ७५ हजार रुपैयाँ नगद जरिवानासमेत गर्ने निर्णय भएको छ। ‘उनलाई आगामी १० वर्षका लागि कुनै पब्लिक कम्पनीमा सञ्चालक बन्न नपाउने कारबाही पनि गरिएको छ’, उनले भने। 

यसअघि सेबोनले इन्साइडर ट्रेडिङमा यस्तै प्रकृतिको मुद्दामा गुरुप्रसाद न्यौपानेलाई कारबाही गरेको थियो।