काठमाण्डौ । सूचिकृत कम्पनीका संचालकहरु नै इन्साइडर ट्रेडिङको धन्दामा लाग्ने गरेका घटना नेपालका लागि नौलो होइन । नियामक धितोपत्र बोर्ड र बजार संचालक नेपाल स्टक एक्सचेञ्जले यस्ता अपराधहरुमा फितलो अनुसन्धान गर्दा र कारबाहीको साटो दोषीसँगै मिल्दा यस्ता घटना सार्वजनिक भए पनि दोषीलाई कडा कारबाही भएको र यस्तो प्रवृति भविष्यमा रोक्नसक्ने गरी कडा कदम चालिएको कुरा कहिल्यै बाहिर आउँदैन । 

इन्साइडर ट्रेडिङको धन्दा संचालन गर्ने कम्पनीहरुको कारोबार केही दिन निलम्बनमा राखेर नियामकका अधिकारीहरुको सेटिङ मिलेपछि बिना प्रष्टीकरण र कारण कारोबार फुकुवाको नाटक रचिन्छ । 

पटक–पटक यस्तै विवादमा फस्दै आएको हिमालयन डिस्टीलरी लिमीटेड फेरि एकपटक इन्साइडर ट्रेडिङको आरोपमा मुछिएको छ । यो कम्पनीको सेयर कारोबार बिहीबार बजार खुलेलगत्तैदेखि नेप्सेले रोक्का गरिदिएको छ । नेप्सेले डिस्टीलरीको संचालक समितिले गरेको बोनस सेयर वितरणको निर्णय ढिलो गरी जानकारी गराएको भन्दै सेयर कारोबार रोकेको हो । 

यो कम्पनीको कात्तिक २९ गते बसेको संचालक समितिको बैठकले लाभांश वितरणको निर्णय गर्दै साधारणसभाको मिति समेत तोकेको थियो । गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई २१.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको थियो । यो निर्णय सम्बन्धी सूचना डिस्टीलरीले ढिलो गरी नेप्सेलाई जानकारी गराएको थियो । लाभांशको निर्णय गरेको एकसातासम्म सो बिषयमा नेप्सेलाई कुनै जानकारी नगराएर संचालकहरुले नै इन्साइडर ट्रेडिङ गरेका नेप्सेका एक अधिकारीको दाबी छ । 

कम्पनीको सोही संचालक समितिको बैठकले मंसिर २९ गते वीरगञ्जमा साधारणसभा गर्ने निर्णय गरेको थियो । साधारणसभा प्रयोजनका लागि मंसिर १५ गतेदेखि बुक क्लोज गर्ने निर्णय समेत सोही बैठकले गरेको थियो । 

कात्तिक २९ गते निर्णय गरी सो बिषयमा मंसिर ७ गते बिहीबार मात्र नेप्सेलाई जानकारी गराउनुको भित्री उद्देश्य नै इन्साइडर ट्रेडिङ रहेको प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको ती अधिकारीले बताए । 

यसअघि विराटनगरको सिर्जना फाइनान्ससहितका २ कम्पनीले समेत लाभांश वितरणको निर्णय भएको निकै ढिलो मात्र नेप्सेलाई जानकारी गराएका थिए । सो बिषयमा नेप्सेले स्पष्टीकरण सोध्दै एकदिन सेयर कारोबार रोक्का गरेको थियो । तर, भोलिपल्ट एकाएक ती दुवै कम्पनीको कारोबार फुकुवा गरिएको थियो ।