काठमाण्डौ । इन्साइडर ट्रेडिङलाई प्रोत्साहित हुने गरी हकप्रदको सूचना चुहाउने जलविद्युत लगानी तथा विकास कम्पनीले आलटाले स्पष्टीकरण पेश गरेपछि उसलाई नेपाल स्टक एक्सचेञ्जले सचेत गराउने भएको छ ।
यो कम्पनीले इन्साइडर ट्रेडिङ गरी बजार मूल्य प्रभावित पार्ने काम गरेको समाचारका आधारमा नेपाल स्टक एक्सचेञ्जले उसलाई सोमबार स्पष्टीकरण सोधेको थियो ।
नेप्से स्रोतका अनुसार कम्पनीले बुधबार नेप्सेमा आफ्नो लिखित स्पष्टीकरण पेश गरेको हो, जहाँ इन्साइडर ट्रेडिङको बिषयमा आलटाले जवाफ दिई टार्न खोजिएको छ । 'उहाँहरुले नियमतवश कमजोरी भएको होइन, मानवीय कमजोरीको रुपमा बुझिदिन आग्रह गर्नुभएको छ ।' नेप्सेस्थित सेयर सूचिकरण विभागका एक कर्मचारीले बिजशालासँग भने-'शुक्रबार निर्णय भएको भनेर नेप्सेलाई पत्र पठाए पनि सबै संचालकहरु आइतबार मात्र उपलब्ध भएकोले पूर्ण निर्णय सो दिन भएकोले आफूहरु कारबाहीको भागिदार बन्न नपर्ने जिकिर स्पष्टीकरणमा पेश गरिएको छ ।'
जवाफ टालटुले देखिएपछि नेप्सेले एचआइडिसिएलका अधिकारीहरुलाई बिहीबार कार्यालयमै बोलाएर मौखिक स्पष्टीकरण समेत लिने काम गरेको छ । एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव लगायतका अधिकारी बिहीबार ११ बजे नेप्से पुगेका थिए ।
उनीहरुले नेप्सेमा आएर समेत आफूहरुबाट नियतवश गल्ती नभएको दलिल पेश गरेका स्रोत बताउँछ ।
नेप्सेका एक उच्च अधिकारीका अनुसार एचआइडिसिएलको जवाफको आधारमा सम्बन्धित विभागलाई टिप्पणी लेखेर पठाउने निर्देशन दिइसकिएको छ । 'एचआइडिसिएललाई उसको गल्तीप्रति सचेत गराउनेसम्मको कारबाही हुँदैछ ।' ती अधिकारीले भने-'हामीले गर्नसक्ने भनेको सचेत गराउने मात्रै हो, बाँकी कारबाहीका लागि अन्य निकाय छन् ।'
यसरी भएको थियो इन्साइडर ट्रेडिङ
यो कम्पनीबाट हकप्रद सम्बन्धी सूचना औपचारिक रुपमा जानकारीमा आउनुअघिदेखि नै चुहिएको थियो । जसका कारण यो कम्पनीको सेयरको भाउ एकाएक बढेको थियो ।
समयअघि नै सतप्रतिशत हकप्रद र ८ प्रतिशतसम्म नगद लाभांश दिने निर्णय हुँदैछ भन्ने सूचना दोश्रो बजारमा व्याप्त थियो । यही सूचनाका आधारमा एनआइडिसीएलको सेयर कारोबारमा राम्रै चलखेल भएको देखिएको छ ।
केही दिनदेखि बजारमा जे–जे सूचना सम्प्रेषण भई यो कम्पनीको सेयरमा इन्साइडर ट्रेडिङ भएको थियो, सोमबार कम्पनीले तीमध्ये एउटा सूचनालाई पुष्टि गरिदिएको थियो । अर्थात, कम्पनीको संचालक समितिले औपचारिक रुपमा सोमबार मात्रै नेप्सेलाई सतप्रतिशत हकप्रद निश्कासनको निर्णय भएको जानकारी गराएको थियो ।
यो कम्पनीले बजारमा चलेको हल्लालाई सही साबित गर्दै १०० प्रतिशत हकप्रद निश्कासनको औपचारिक जानकारी दिइसकेको छ । अब ८ प्रतिशतसम्मको नगद लाभांश समेत वितरण गर्दैछ भन्ने हल्लालाई समेत उसका आगामी निर्णयले पुष्टि गर्ने स्रोतको भनाई छ ।
औपचारिक निर्णयअघि नै सूचना चुहाएर चलखेल गर्नेलाई अवसर दिएको कम्पनीले शुक्रबार भएको निर्णयलाई समेत लुकाएर सोमबार मात्र सार्वजनिक गरेको छ । यसबाट समेत थप इन्साइडर ट्रेडिङ भएको लगानीकर्ताको बुझाई छ । नेप्सेमार्फत सार्वजनिक हुनुअघि नै शुक्रबारको निर्णय चुहिएका कारण आइतबार यो कम्पनीले सबैभन्दा बढी कारोबार गरेको थियो । मूल्य समेत बढेर निकै माथि पुगेको थियो । गोप्य सूचना चुहाई सेयर मूल्य बढाएर सोमबार केही नाफा बुक गरी बिक्री गर्नेहरुको संख्या समेत निकै ठूलो देखिएको छ । यसरी सर्वसाधारण लगानीकर्तालाई फसाएर एनआइडिसीएलको नाममा यो पटक पनि गिरोहले राम्रै कमाई गरेको स्रोत दाबी गर्छ ।
चलखेलकै कारण आइतबार १७९ सम्म पुगेको कम्पनीको सेयर मूल्य घटेर सोमबार भने १ सय ७२ रुपैयाँमा सीमित बन्न पुगेको थियो । सोमबार यो समाचार तयार पार्दासम्म मूल्य घटेर १६७ सम्म झरेको छ । यसरी हेर्दा यो कम्पनीको सेयर उचालिएर किन्नेहरुले दुई दिनमै प्रतिसेयरमा १२ रुपैयाँ घाटा खाएका छन् ।
यो कम्पनीको साउन ११ गते(शुक्रबार) बसेको १७० औं संचालक समितिको बैठकले आफ्नो उद्देश्य अनुसार कार्य गर्नका लागि आवश्यक पूँजी व्यवस्था गर्ने योजनाअनुसार हालको चुक्तापूँजीको सतप्रतिशत९१ बराबर १ को अनुपात०मा हकप्रद सेयर जारी गर्ने निर्णय गर्दै सो बिषय प्रस्तावको रुपमा आगामी साधारणसभामा पेश गर्ने निर्णय गरेको छ।
हाल यो कम्पनीको चुक्तापूँजी १० अर्ब रुपैयाँ रहेको छ । सतप्रतिशत हकप्रदपछि बढेर २० अर्बको उचाईमा पुग्नेछ ।
शुक्रबारको निर्णय आइतबार नेप्सेलाई जानकारी नगराई सोमबारसम्म अल्झाइनुले समेत नियतवश निर्णय सार्वजनिक गर्न ढिलाई गरी चलखेल गरिएको लगानीकर्ताहरुको आरोप छ । उनीहरुले यो कम्पनीले गरेको चलखेल र यसमा भएको मिलेमतोको बिषयमा छानबिन गर्न समेत आग्रह गरेका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago