-अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । पाँच दिनमा बजार ४ दिन घट्यो भने १ दिन मात्रै बढ्यो ।
अघिल्लो साता २१५०.९९ मा बन्द भएको बजार यो साता २०४९.३८ मा बन्द भयो । यस हिसाबले यो साता दोस्रो बजारमा करिब १०२ अंकले गिरावट आयो । अघिल्लो साता भने दोस्रो बजारमा ९५.४६ अंकको बढोत्तरी आएको थियो ।
यो साता दोस्रो बजारमा १७ अर्ब ८६ करोडको कारोबार भयो । अघिल्लो साता यस्तो कारोबार २३ अर्ब २५ करोड बराबरको थियो । यो हिसाबले यो साता दोस्रो बजारमा कारोबार र भोलुम दुवैमा गिरावट आयो ।
यो साता बजार पुँजीकरण ३० खर्ब ८ अर्बमा सीमित बन्न पुग्यो । यस्तो बजार पुँजीकरण अघिल्लो साता ३१ खर्ब ५० अर्ब रहेको थियो । यस हिसाबले यो साता दोस्रो बजारमा लगानीकर्ताहरुले करिब डेढ खर्ब गुमाए ।
इलिअट वेभ
इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।
बजारलाई पछिल्लो समयको न्यून विन्दु करिब १८०८ देखि हालसम्मको चक्रलाई हेर्दा बजारले इलिअट वेभको एउटा चक्र पूरा गरेको देखिन्छ । यो बीचमा १,२,३,४,५ बनाएको र ए बी सी करेक्सनको चक्र यो साता सकिएको देखिन्छ । जसलाई वेभ ४ अर्थात बजार २०४९ मा बन्द हुनुले पुष्टि गर्न खोजेको देखिन्छ । अर्थात यसको अर्थ अब आगामी साताबाट यसरी नै फेरि नयाँ चक्र बजारमा सुरु हुनसक्ने देखिन्छ । त्यो भनेको यही प्रक्रियाले बजार करिब २४७५ सम्म पुग्नसक्ने र यसपालि अघिल्लो पटकको २२७५ को प्रतिरोध सजिलै तोडिन सक्ने देखिन्छ ।
बोलिङ्गर ब्यान्ड, म्याक्डी र आरएसआई
साप्ताहिक रुपमा बजारलाई बोलिङ्गर ब्यान्डमार्फत हेर्दा यो साता अप्पर ब्यान्डमा रातो मारुबुजु क्यान्डल बनेको छ । यसले बजारमा तीव्र करेक्सन चलेको बुझिन्छ । म्याक्डीमार्फत हेर्दा अघिल्लो महिना बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको र हिस्टोग्राम सकरात्मक रहेता पनि केही फिक्का भएको छ । साप्ताहिक रुपमा आरएसआईमार्फत हेर्दा करिब ६० को तहमा प्रतिरोध सामना गरेर यो साता ५४ को विन्दुमा बन्द भएको देखिन्छ । मनि फ्लो इन्डेक्सबाट हेर्दा अघिल्लो पटकको हाइ ७५ को विन्दुमा यसपटक पनि प्रतिरोध सामना गरेर ६६ मा बन्द भएको देखिन्छ । समग्रमा यी विविध इण्डिकेटरबाट हेर्दा यो साता बजारमा करेक्सन आएको र बढ्ने ठाउँ बाँकी नै रहेको देखिन्छ । किनकी बढ्दो बजारमा एमएफआई १०० को तहसम्म पुग्नसक्छ ।
पिभट विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ –२३६७
प्रतिरोध २ –२२८६
प्रतिरोध १– २२१८
पिभट प्वाइन्ट: २१३८
घटेमा सपोर्ट
सपोर्ट १– २०७०
सपोर्ट २– १९८९
प्रतिरोध ३ –१९२१
निश्कर्ष
अघिल्लो साता ९५ अंक बढेको बजार यो साता १०२ अंकले घटेर बन्द भयो । बजारलाई इलिअट वेभमार्फत हेर्दा मिनेट डिग्री अर्थात छोटो समय अवधिमा एउटा चक्र पूरा भएको देखिन्छ । जसलाई यो साता बनेको क्यान्डल स्टिकको प्याट्रनले पनि पुष्टि गर्न खोजेको देखिन्छ । बजारलाई डेली टाइम फ्रेममा डाउ थेउरीमार्फत हेर्ने हो भने हायर हाइ र हायर लोको सिरिज बनेको देखिन्छ । यदि बजार यही विन्दुबाट माथि जान्छ भने नयाँ हायर हाइ बनाउनेछ । यस विपरित यदि बजारमा अझै करेक्सन नसकिएको हो भने पनि बजारले एकपटक हायर लो बनाउन जाने सम्भावना उत्तिकै छ ।
अहिलेसम्मको बजारको अवस्थालाई हेर्दा बजारमा बुलिस ट्रेन्ड जीबित नै रहेको मान्न सकिन्छ । यो साता २०४९ को विन्दुमा बन्द भएको बजार यदि नयाँ हायर हाइ बनेको खण्डमा अबको डेढ–२ महिनामा २५०० सम्म पुग्न सक्ने छ । तर बजारले हायर लो बनायो भने केही अंक गुमाउन पनि सक्छ ।
सेक्टरवाइज रुपमा यो साताको बजारलाई हेर्दा अघिल्लो साता जस्तै यो साता पनि होटल समूह नै पहिलो स्थानमा आएको देखिन्छ । दोस्रोमा जीवन बिमा, तेस्रो र चौथामा कारोबार र वित्त समूह, पाँचौमा निर्जिवन समूह , छैठौ तथा सातौमा अन्य र उत्पादन समूह परेका छन्।
यस्तै, आठौ, नबौ र दसौमा क्रमशः लघुवित्त, लगानी तथा विकास बैंक समूह परेका छन् । यो साता पनि जलविद्युत र वाणिज्य बैंक समूह एघारौं र बाह्रौ स्थानमा परेका छन् । यस हिसाबले हेर्दा बाणिज्य बैक तथा जलविद्युत समूह अगाडि आउन अझै केही समय लाग्ने देखिन्छ ।
(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।)
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19