काठमाण्डौ । ईङ्वा हाइड्रोपावर लिमिटेडको सेयर मंगलबारबाट दोस्रो बजारमा कारोबार खुलेको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र आज स्पेसल प्रि-ओपसन सेसनमा यो कम्पनीको सेयर किनबेच भएसँगै नियमित कारोबारका लागि खुलेको हो। 

नेप्सेले ईङ्वा हाइड्रोपावरलाई पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९७.२९ रुपैयाँ र अधिकतममा २९१.८७ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो। आज प्रि–सेसनमा यो कम्पनीको सेयर प्रतिकित्ता २९१.८० रुपैयाँमा किनबेच भएको छ। 

नेप्सेले ‘आईएचएल’ कारोबार संकेत प्रदान गरेको छ।

नेप्सेमा सोमबार ईङ्वा हाइड्रोपावरको कुल ६० लाख कित्ता सेयर सूचीकृत भएको थियो। जसमा संस्थापक समूहको ४२ लाख कित्ता (७० प्रतिशत) र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीसहित)को १८ लाख कित्ता छन्।