काठमाण्डौ । उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयले मातहतका निकायलाई स्वदेशी उत्पादनका वस्तुमात्रै प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। 

सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्नेसम्बन्धी निर्देशिका २०७१ को प्रभावकारी कार्यान्वयन गर्न भन्दै मन्त्रालयले शुक्रबार एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। ‘सबै तहका सरकार, मन्त्रालय, आयोग र सबै सार्वजनिक कार्यालयहरुलाई स्वदेशी वस्तु अनिवार्य प्रयोग गर्ने व्यवस्था मिलाउनु’, परिपत्रमा भनिएको छ। 

सबै सार्वजनिक निकाय तथा कार्यालयले आयोजना गर्ने कार्यक्रममा अतिथि सत्कार, नास्ता र खाजामा अनिवार्य रुपमा नेपाली नै उत्पादन प्रयोग गर्न र सार्वजनिक खरिद पनि १५ प्रतिशतसम्म महँगो भए पनि नेपाली उत्पादन नै गर्न मन्त्रालयले निर्देशन दिएको छ। ‘सार्वजनिक निकायले आफ्नो कार्यालयमा प्रयोग हुने स्टेसनरी, फर्निचर, मेसिनरी औजारजस्ता मालसामान खरिद गर्दा सकेसम्म नेपाली उत्पादन नै खरिद गर्नुपर्नेछ’, परिपत्रमा भनिएको छ, ‘उपलब्ध भएसम्म नेपाली उत्पदन नै प्रयोग गर्न नभएमा न्यूनतम ५० प्रतिशत स्वदेशी मालसामान खरिद गर्नुपर्नेछ।’

मन्त्रालयमातहतको सार्वजनिक खरिदमा पनि विदेशी मालसामानभन्दा नेपालमा उत्पादित वस्तु १५ प्रतिशत महँगो भए नेपाली खरिद गर्नुपर्ने निर्देशन दिइएको छ। यस्तो व्यवस्था सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १७ मा पनि भएको मन्त्रालयले जनाएको छ। 

यसैगरी मन्त्रालयले स्वदेशी माल सामान वा वस्तुको उत्पतिको प्रमाणपत्रको विवरण सबैले देखिने गरी प्रकाशन गर्न पनि निजी क्षेत्रलाई आग्रह गरेको छ । ‘स्वदेशी मालसामान उत्पादन गर्ने उत्पादकले सार्वजनिक निकायमा आफ्नो उत्पादनलाई सूचीकृत गराउनुपर्नेछ’, परिपत्रमा उल्लेख छ।