ललितपुर। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग वाणिज्य क्षेत्र र विश्वविद्यालय बिचको साझेदारीले अनुसन्धान, नवप्रवर्तन र दक्ष जनशक्ति विकासमा योगदान पुग्ने भएकाले विश्वविद्यालयहरु सँगको साझेदारीलाई उच्च महत्व दिएको बताएका िछन्। 

आज ललितपुरमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले विज्ञान र प्रविधिको क्षेत्रमा उच्च शिक्षा अध्ययन तथा अनुसन्धानमा समर्पित विश्वविद्यालयसंग साझेदारी गर्न महासंघ तयार रहेको बताएका हुन्। उनले भने, ‘उद्योग व्यवसाय क्षेत्रमा चुनौती छन्। त्यस्ता चुनौतीहरुको  समाधानका लागी उद्योग वाणिज्य महासंघ र विश्वविद्यालयबीच सहकार्य गर्दा पक्कैपनि नयाँ बाटो खुल्ने छ र यसबाट अन्य क्षेत्र पनि साझेदारीका लागि प्रेरित हुनेछ।’

अध्यक्ष ढकालले महासंघ र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबीच डेढ दर्जन क्षेत्रमा साझेदारी गर्न सकिने पनि उल्लेख गरे। संयुक्त अनुसन्धान परियोजनाहरुमा सहकार्य गर्ने, उद्योगहरुबाट प्राप्त व्यावहारिक अनुभवहरु सहितको पाठ्यक्रम विकासमा काम गर्ने, विद्यार्थीहरुलाई इन्टर्नसिपहरु र कम्पनीहरुमा काम गर्ने अवसर सृजना गर्ने तथा नयाँ प्रविधिको व्यावसायीकरणका लागि उद्योगहरुमा हस्तान्तरण गर्ने व्यवस्था मिलाउन सकिने पनि अध्यक्ष ढकालले उल्लेख गरे।

यसैगरी महासंघ व्यावसायिक संस्था मात्र नभई सरकार र सरोकारवालाहरुलाई सल्लाह दिने थिंक ट्यांक भएकाले विश्वविद्यालयसँग मिलेर संयुक्त कार्यशाला र प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्न सकिने,अनुसन्धान अनुदान तथा छात्रवृत्तिका लागि कोष स्थापनमा पनि सघाउन तयार रहेको अध्यक्ष ढकालेले बताए। ‘बिजनेस इन्क्युबेटर, एक्सेलेटर र इनोभेसन सेन्टर स्थापना तथा सार्वजनिक–निजी–विश्वविद्यालय साझेदारीमा विश्वस्तरीय परीक्षण प्रयोगशालाहरु स्थापना गर्न सक्यौँ भने यसले नेपालको निर्यात बढाउन मद्दत गर्नेछ’, उनले भने। 

बदलिँदो प्रविधिलाई उपयोग गर्ने गरी आर्टिफिसियल इन्टेलिजेन्सका क्षेत्रमा प्रभावकारिता र दक्षता बढाई नवीन उत्पादन र सेवाहरु दिन सक्ने अवस्थाका लागि पनि विश्वविद्यालयसँग गहन साझेदारीको प्रस्ताव गरिएको पनि अध्यक्ष ढकालले बताए। उनले यी सबै पहलहरुका लागि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग सघन साझेदारीका लागि महासंघका तर्फबाट प्रतिबद्धतासमेत व्यक्त गरे।