काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग सचिव मधुकुमार मरासिनीसहित ९ जना बिरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले  हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुख तथा मधु कुमार मरासिनीसहित तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष संजय शर्मा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्यायसमेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपमा मुद्दा दायर गरेको हो ।

अख्तियारले ६ वर्षअघि खरिद गरिएको नेशनल पेमेण्ट गेटवे अहिलेसम्म प्रयोगमा आउन नसकेको, आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत तयार गरी स्वीकृत गरे गराएर २५ करोड रुपैयाँमा खरिद गरी हिनामिना गरेकोबारे अनुसन्धान सकेर मुद्दा दायर गरेको हो ।

आरोपत्र दायर गरिएका अन्यमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन उपनिर्देशक र कार्यकारी निर्देशक तथा हाल नेपाल टेलिकमका प्रवन्ध निर्देशक सुनिल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हाल उपनिर्देशक सफल श्रेष्ठ, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश प्रसाद पोखरेल भन्ने रमेश पोखरेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निम बहादुर वली, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत राम बहादुर बुढा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कम्प्युटर इन्जिनियर राम शरण गायक छन् ।

अख्तियारको आरोप पत्रमा उनीहरुको मिलोमतो तथा योजनामा अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुख मुधु कुमार मरासिनीले नीति तथा कार्यक्रममा समावेश नभएको तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रले बजेट नै माग नगरेको नेशनल पेमेण्ट गेटवे खरिद शीर्षकमा बजेट प्रविष्टिका नियमित चरणहरुमा पर्ने कुनै पनि कार्य नगरी तथा सो सम्बन्धी तयारीको आवश्यक कागजातसमेत समावेश नगरी २५ करोड  रुपैयाँ हिनामिना गरेको उल्लेख छ ।

नेशनल पेमेन्ट गेटवे खरिद शीर्षकमा बजेट प्रविष्टिका नियमित चरणहरुमा पर्ने कुनै पनि कार्यसमेत नगरिएको र त्यसबारे आफू मातहत तथा माथिल्लो निकायलाई जानकारीसमेत नदिइएको अख्तियारको ठहर छ ।