काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशका पत्रकारहरुका लागि कृषि समाचार सम्प्रेषण सम्बन्धि अभिमूखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । 

कार्यक्रममा महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले प्रदेशको स्थानीय उत्पादनको प्रबर्द्धन रोजगारी सृजना गर्न र उद्योगी व्यवसायीहरुको व्यवसायिक क्षमता विकासका लागि महासंघले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए ।

उनले राज्य पुनसंरचनापछि कृषिको विकासको लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबाट विभिन्न कार्यक्रमहरु सञ्चालनमा रहेकोमा अपेक्षित उपलब्धि हासिल हुन नसकि दिन प्रतिदिन परनिर्भरता बढ्दै गएको बताए । 

यसैगरी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका महासचिव विवेक गौतमले उद्योग वाणिज्य महासंघ उद्योगी, व्यवसायीहरुको मात्र पैरवी गर्ने संस्थाको रुपमा मात्र रहेको बुझाईलाई कृषक र पत्रकारलाई जोड्ने सेतुको रुपमा यो कार्यक्रमले गरेको बताए ।

कार्यक्रममा कोशी प्रदेशमा कृषि, पशुपालन क्षेत्रको व्यवसायिकरणको वर्तमान अवस्था, कोशी प्रदेश सरकारको कृषि र पशुपालन विकासका कार्यक्रम, मिडिया प्रवद्र्धन अवसरका लागि कृषि मूल्य श्रृंखलाका मुख्य–मुख्य क्षेत्र र मुद्दाहरु बारेमा उद्योग कृषि तथा सहकारी मन्त्रालयका बरिष्ठ अधिकृत पशुपति पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) को सहयोगमा आयोजित कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाका सञ्चार माध्यममा कार्यरत ४५ जना पत्रकारहरुको सहभागिता थियो ।