काठमाण्डौ । उन्नति माइक्रोफाइनान्स बित्तीय संस्थाले निश्कासन गरेको आइपीओको माघ २६ गते शुक्रबार बाँडफाँड हुने भएको छ ।

यो माइक्रोफाइनान्सले पुस २१ देखि २५ गतेसम्म १ करोड ६५ लाख मूल्य बराबरको आइपीओ निश्कासन गरेको थियो । 

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आइपीओ बाँडफाँडको सम्पूर्ण पूर्व तयारी पूरा भइसकेको छ । धितोपत्र बोर्डले समेत क्यापिटलले तयार गरेको बाँडफाँड मोडललाई स्वीकृत गरिसकेको छ । 

यो कम्पनीको आइपीओमा मागभन्दा ४८ गुणा बढी  आवेदन परेको थियो । यति धेरै आवेदन परेपछि अधिकांश लगानीकर्ताको रित्तो हात हुने अवस्था देखिन्छ । 

यो माइक्रोफाइनान्स कम्पनीले १ करोड ६५ लाख मूल्यको आइपीओ निश्कासन गरेकोमा कुल ७९ करोड ७४ लाख ८४ हजार ८ सय रुपैयाँ बराबरको प्रस्ताव परेको हो ।

देशभरबाट २ लाख ४८ हजर २ सय ९८ जनाले आइपीओ खरीदका लागि आवेदन दिएका छन् । 

धितोपत्रको सार्वजनिक निश्कासनको नयाँ नियमावलीअनुसार प्रत्येक लगानीकर्ताले १० कित्ता पाउनुपर्ने हुन्छ । यसरी हेर्दा सर्वसाधारणका लागि छुट्याइएको १ लाख ५० हजार १ सय ५० कित्ता सेयर १५ हजार १५ लगानीकर्ताले चिठ्ठाको माध्यमबाट पाउनेछन् । बाँकी २ लाख ३३ हजार २ सय ८३ लगानीकर्ता हिस्स बन्नुपर्ने अवस्था हुनेछ ।

कुल निश्कासित कित्तामध्ये ६ हजार ६ सय कित्ता कर्मचारीका लागि, ८२५० कित्ता अस्तित्वमा रहेका ११ वटा म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिएको छ । बाँकी १ लाख ५० हजार १ सय ५० कित्ता मात्र सर्वसाधारणका लागि छुट्याइएको छ ।

उन्नति माइक्रोफाइनान्सको हालको चुक्तापूँजी ३ करोड ८५ लाख रुपैयाँ रहेको छ । आइपीओपछि चुक्तापुँजी ५ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।