काठमाण्डौ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज दिउँसो बस्दैछ।

प्रमुख जिल्ला अधिकारीहरु काठमाण्डौका जनकराज दाहाल, भक्तपुरकी हुमकला पाण्डे र ललितपुरका नारायणप्रसाद भट्टको संयुक्त बैठक बस्न लागेको हो। बैठकमा उपत्यकामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा जारी गरिएको निषेधाज्ञाको समीक्षा गर्दै यसको समयमावधि थप्ने एक साता लम्बाउने सम्भावना प्रबल रहेको स्रोत बताउँछ। ‘प्रजिअहरु र उपत्यकाका तीनवटै जिल्लाका कोभिड–१९ जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर ९डीसीएमसी०को बैठकबाट निषेधाज्ञाको समयसीमा थप गर्ने तयारी गरिएको छ’, स्रोत भन्छ। 

बैठकमा निषेधाज्ञाको मोडालिटी चेन्ज गर्ने कि यसअघि जारी आदेशलाई निरन्तरता दिने भन्नेबारे छलफल हुने बताइएको छ। 

यसअघि तीनवटै जिल्लाका सुरक्षा समितिको निर्णयअनुसार उपत्यकामा गत भदौ ३ गते राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञाको अवधि भोलि बुधबार राति १२ बजेबाट सकिँदैछ। 

निषेधाज्ञाको समय सकिनुअघि बस्ने बैठकले आगामी रणनीति बनाउने बताइएको छ। उपत्यकाका प्रजिअहरुले जारी निषेधाज्ञामा आवागमन बन्द गरेपछि भीडभाड कम भएको र त्यसबाट उपत्यकामा संक्रमणको दर घटेको निष्कर्ष निकालेका छन्। 

हिजो सोमबार पनि उपत्यकाका स्थानीय प्रशासनले निषेधाज्ञाको प्रारम्भिक समीक्षा गर्दै निषेधाज्ञाको स्वरुपलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए।