काठमाण्डौ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुसँग बिहीबारको बैठकमा व्यवसायीहरुले लकडाउन खुकुलो पारी व्यापारव्यवसाय सञ्चालन गर्न दिइनुपर्ने सुझाव दिएका छन्।

बैठकमा सहभागी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन खुकुलो पारेर व्यवसायलाई आर्थिक चलयमान गर्नुपर्ने सुझाव पेस गरेका छन्। जिल्ला समन्वय समिति काठमाण्डौमा सीडीओ हरुसँगको छलफल अध्यक्ष श्रेष्ठले कोरोनाबाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई व्यापारव्यवसाय सुचारु गर्न लकडाउन खुकुलो पार्नुपर्ने सुझाव दिएका हुन्। 

छलफलमा सहभागी तीनै जिल्लाका सीडीओहरुले आफूले पेस गरेको सुझाव सकारात्मक भएको प्रतिक्रिया दिएको श्रेष्ठ बताए। ‘उहाँहरुले सबैबाट प्राप्त सुझावका आधारमा नयाँ मोडालिटी बनाएर कोरोनाबाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाउने र लकडाउन खुकुलो बनाउने बताउनुभएको छ’, श्रेष्ठले भने। 

व्यापारीहरुले एकतर्फी रुपमा पसल खोलेको भन्दै उपत्यकाका काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लाका सीडीओहरुले व्यापारीहरुसँग संयुक्त बैठक डाकेका थिए। बैठकमा सीडीओहरु काठमाण्डौका जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डे सहभागी थिए। 

बैठकमा व्यापारीहरुले गरेको निर्णयकै विषयमा केन्द्रित भएर सकारात्मक छलफल भएको काठमाण्डौका सीडीओ दाहालले बताए। अब लकडाउनका विषयमा के–कसरी अगाडि बढ्ने विषयमा निक्र्यौल गरिने उनले जानकारी दिए।