काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस नियन्त्रण तथा रोकथाम अभियानअन्तर्गत सरकारले काठमाण्डौ उपत्यका प्रवेश गर्न र बाहिर जान कडाइ गर्ने भएको छ।

मन्त्रिपरिषदको गत जेठ २८ गतेको निर्णय र गृह मन्त्रालयको जेठ ३० गतेको निर्देशनबमोजिम जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आइतबारदेखि लागू हुने गरी उपत्यका प्रवेश र बाहिरिन कडाइ गर्नका लागि नयाँ नियम ल्याएको हो। 

नयाँ नियमबमोजिम अब उपत्यका प्रवेशका लागि आफू बसोबास गरिरहेको नगरपालिकाको अनुमति चाहिने भएको छ। उपत्यका बाहिर रहेकाहरुले अब आफू बसोबास गरिरहेको नगरपालिकामा फर्किनका लागि सोही नगरपालिकाको अनुमतिसहित यात्रा सुरु गर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ। 

गृह मन्त्रालयको निर्णयअनुसार नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि मात्र ती व्यक्तिले अनुमतिपत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासका लागि निवेदन दिनुपर्नेछ। त्यसपछि जिल्ला प्रशानसन कार्यालयले संक्रमण जोखिम विश्लेषण र यात्रा औचित्यतालाई पुष्टि गर्ने कागजातसमेत विचार गरी पास दिन सक्ने गृह मन्त्रालयको निर्णय छ।

त्यस्तै काठमाडौ उपत्यकाबाहिर जान चाहनेले अत्याश्यक काम खुल्ने कागजात पेस जिल्ला प्रशासन कार्यालयमा पेस गरेपछि मात्र सवारी पास उपलब्ध गराउन गृह मन्त्रालले निर्देशन दिएको छ। सरकारी वा संस्थागत कामका लागि भए सम्बन्धित संस्थाको सिफारिसपत्रसहित जिल्ला प्रशासन कार्यालयमा पासका लागि सम्पर्क गर्न सकिने नियम बनाइएको छ।