काठमाण्डौ । सम्पन्न र सुखी जीवन सबैको चाहना हो । कोहीले यसलाई सपनामा मात्र सीमित राख्छन् भने केही सुखी जीवनको आनन्द लिँदै अरुलाई पनि सुखी र खुसी बनाउन सक्षम हुन्छन् ।

हुन त आर्थिक आवश्यकता समय सँगसँगै परिवर्तन भइरहेको हुन्छ । समय सबैदिन एकनास हुँदैन पनि । तर मानिसहरुले सोच्दै नसोचिकन आम्दानीभन्दा खर्च धेरै गरिरहेको हुन्छन् ।

कोही भविष्यको बारेमा केही पनि सोच्दैनन र आम्दानी भए जत्ति वा ऋण गरेर भए पनि खर्च गर्दछन् । अर्काथरी व्यक्तिहरु आम्दानीभन्दा खर्च कम गर्छन् र बाँकी भएको रकम बचत गर्छन् । तेस्रो प्रकारका मानिसहरु आफूसँग भएको पूँजी वा कुनै माध्यमबाट पूँजी जम्मा परेर सानो वा ठूलो लगानी गरिरहन्छन्  । त्यसैले त भन्ने गरिन्छ, लगानी गर्न लगन कुरिरहनु पर्दैन ।

सामान्यतया, तपाईंले वर्षमा एकपटक आफ्नो वित्तीय योजनालाई समीक्षा गर्नै पर्दछ । वित्तीय विश्लेषकहरुले विशेष गरी वित्तीय वर्षको अन्त्य वा सुरुमा यसबारे समीक्षा गर्ने हो भने आर्थिक रुपले जीवन सहज रुपमा अगाडि बढाउन मद्धत पुग्ने बताएका छन् । यसबाहेक उनीहरुले आय परिवर्तन हुँदा र ऋण लिँदा जस्ता धेरै अवसरहरूमा वित्तीय योजनाको समीक्षा गर्नु महत्त्वपूर्ण हुने बताएका छन् ।

वित्तीय योजना अन्तरगत आजको श्रृंखलामा निम्न अवस्थामा वित्तीय योजनाको समीक्षा गर्नु आवश्यक हुन्छ । ती यसप्रकार छन् ।
१. जब आयमा परिवर्तन हुन्छ
यदि आम्दानी बढ्दै गएको छ भने त अतिरिक्त आम्दानीलाई विभिन्न लगानी उपकरणहरूमा लगानी गर्नुहोस् जसले तपाईंलाई आफ्नो वित्तीय लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्नेछ। यतिमात्र नभएर जीवन र स्वास्थ्य बीमातर्फ पनि लगानी बढाउनुहोस्। यदि अनावश्यक खर्च भइरहेको छ भने घटाउनुहोस्। आम्दानी घट्ने वा रोकिने अवस्था छ भने चाहिं पहिलेको बचतको प्रयोगलाई प्राथमिकता दिनु पर्दछ । 

२. महत्त्वपूर्ण घटनाहरूमा
जस्तो कि विवाह, बच्चाको जन्म जस्ता धेरै घटनाहरू सामाजिक जीवनका महत्त्वपूर्ण कोसेढुंगा हुन्। नगरिकन पनि नहुने यस्ता कार्यक्रमका लागि वित्तीय वर्षको अन्त्यमा नै योजना बनाउनु पर्दछ । यसका लागि पैसा कहाँबाट आउँछ, ऋण लिनै पर्ने हो भने तिर्ने व्यवस्था के छ ? कसरी तिर्ने भन्ने योजना बनाउनु पर्दछ । यस्ता खालका तपाईंको योजनामा जीवनसाथी, बच्चाहरु, परिवारको आवश्यकताहरुलाई पनि समावेश गर्न आवश्यक छ।

३.ऋण लिँदा
बालबालिकाको उच्च शिक्षा आदिका लागि ऋण लिँदा पनि आर्थिक योजनाको समीक्षा गर्नुपर्दछ ।  बालबालिकाले पढेपछि समयमै जागिर पाएनन् भने ऋण तिर्नको लागि कस्तो व्यवस्था छ, त्यस्ता अवस्थालाई समीक्षा गरी आर्थिक योजनामा ​​समेट्नुपर्छ ।

४ .घर या कार खरिद गर्दा
घर वा कार किन्नु प्रायः धेरै मानिसहरुको आवश्यकताको विषय हुन सक्दछ । यस्तो खरिद गर्दा ठूलो रकमको जोहो गर्नुपर्दछ । यससँगै यससँग सम्बन्धित अरु खर्च पनि बढ्दै जान्छ । ऋण चुक्ता, मर्मत खर्च र बीमाको लागि थप व्यवस्था गर्न वित्तीय योजनाको समीक्षा आवश्यक छ।

५. बृद्धअवस्थामा
बढ्दो उमेरसँगै मानिसमा रोगको जोखिम पनि बढ्दै जान्छ । यसबाहेक आम्दानी पनि स्थिर हुन्छ । निश्चित समयपछि तपाईंले सेवानिवृत्ति योजनाको समीक्षा गर्न महत्त्वपूर्ण छ। बढ्दो मुद्रास्फीति समायोजनसँगै स्वास्थ्य र जीवन बीमाको कभर बढाउनेतर्फ पनि विचार गर्नुपर्छ ।-
एजेन्सीहरुको सहयोगमा