– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीको बालपनको दसैँ निकै रमाइलो अनुभव रहेको छ। 

पाल्पा जिल्ला जन्मथलो रहेका कार्की यसपालिको दसैँ गाउँमा नै मनाउने तयारीमा छन्। उनको परिवार पनि ठूलो रहेकोले दसैँ पनि हरेक विशेष रहने गर्छ। 

पाँच भाइ र दुई दिदी–बहिनीसहित ३५ जनाको कार्की परिवार रहेको छ। यो दसैँमा पनि सीईओ कार्कीको राम्रै भेटघाट हुनेछ। उनी भन्छन्, ‘दसैँ भनेको नै भेटघाट हो भने अर्को पक्षबाट हेर्दा बच्चामा मीठो खाने र राम्रो लगाउने भन्ने थियो। तर, अहिले त्यो छैन। अहिले दसैँ भनेको भेटघाट र सम्बन्ध सुधार पनि हो । गफगाफ र विचार–विमर्श पनि दसैँ हो।’

दसैँ खासगरी बालपनको नै रमाइलो हुने कार्कीको अनुभव छ। बालपनको दसैँ सम्झेर उनी भन्छन्, ‘दसैँमा हामी सबै घर–घर पुगेर टीकाको दिनदेखि तिहारसम्म रोटी संकलन गथ्र्यौं। हामीहरुबीच रोटी संकलन गर्ने प्रतिस्पर्धा नै हुन्थ्यो। कसले धेरै रोटी संकलन गर्ने भनेर ?’

‘तर, अहिले त्यस्तो चलन छैन’, कार्की भन्छन्, ‘हामीकोमा ३ हजार मान्छे जम्मा भएर सरायो नाच भन्ने हुन्थ्यो । दसैँको दिनमा अहिले पनि हुन्छ। तर, पहिलेको जस्तो नभए पनि परम्परा धान्नेमात्रै रहेको छ।’ 

कार्कीले दसैँ, तिहार तथा छठका अवसरमा सबै सेयर लगानीकर्ता तथा नेपाली दाजुभाइलाई शुभकामना दिएका छन्।