काठमाण्डौ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि क्यानाडाका नवनियुक्त राजदूत क्यामरुन डिन म्याकेले शिष्टाचार भेट गरेकी छन्। 

मन्त्रालयमा आज भएको भेटमा दुवैबीच दुई देशबीच रहिआएको आपसी सम्बन्ध र सहयोगका विविधि विषयमा छलफल भएको छ। 

छलफलमा ऊर्जामन्त्री भुसालले विगतमा क्यानाडाले नागरिक उडड्यन, ग्रामीण तथा पर्वतीय विकास, नवीकरणीय ऊर्जा एवं खाद्य सुरक्षाजस्ता क्षेत्रमा पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन्। उनले क्यानाडामा ठूलो संख्यामा नेपालीको बसोबास रहेको उल्लेख गर्दै जनस्तरीय एवं सांस्कृतिक सम्बन्ध दुई देशबीचको महत्वपूर्ण पाटो भएको स्मरण गरिन्। 

नेपालले स्वच्छ ऊर्जाको विकास र व्यापारलाई प्रवर्द्धन गरिरहेको अवस्थामा क्यानडाले आर्थिक एवं प्रविधिक रुपमा सहयोग गर्न सक्ने भुसालले बताइन्। ‘विद्युत खपतका लागि हाल प्रयोग हुँदै आएको पेट्रोलियम सार्वजनिक सवारीसाधनलाई विद्युतीय साधनमा रुपान्तरण गर्दैछौँ’, उनले भनिन्, ‘विद्युतीय ऊर्जा प्रयोग गरेर रसायनिक मल उत्पादन कम्पनी स्थापना गर्न चाहन्छौँ। यी क्षेत्रमा क्यानाडाले आर्थिक तथा प्राविधिक सहयोग गर्न सक्छ।’

मन्त्री भुसालले नेपालको विकासमा क्यानाडाले गर्दै आएको सहयोग निरन्तर रहने विश्वाससमेत व्यक्त गरिन्। उनले आपसी हितका विषयमा द्विपक्षीय र बहुपक्षीय मञ्चहरुमा नेपाल–क्यानाडा सहकार्य निरन्तर रहनेमा आशा गरिन्। 

छलफलमा राजदूत म्याकेले स्वच्छ ऊर्जाको विकासमा नेपालले प्रशंसनीय काम गरिरहेको उल्लेख गर्दै आफ्नो देशको सरकारी एवं निजी क्षेत्रले सहकार्य गरेर नेपालमा आवश्यक पर्ने प्राविधिक सहकार्य गर्ने बताए। उनले क्यानाडाका निजी क्षेत्रले नेपालका निजी क्षेत्रसँग सहकार्य गर्ने उचित वातावरण सिर्जना गर्न आफूले पहल गर्ने विश्वास दिलाए।