काठमाण्डौ । नेपाल उद्योग परिसंघले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिलाई बधाइ तथा स्वागत गरेको छ।
परिसंघ सचिवालयमा आयोजित स्वागत तथा बधाइ कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले इप्पानका नवनिर्वाचित अध्यक्ष गणेश कार्कीसहित पदाधिकारी एवं कार्यसमिति सदस्यलाई स्वागत गरेका हुन्। सो अवसरमा परिसंघ र इप्पानबीच ऊर्जा क्षेत्रको विकास एवं समस्या समाधानका लागि सहकार्य गर्ने ऐक्यबद्धता व्यक्त गरेका छन्।
परिसंघका अध्यक्ष अग्रवालले ऊर्जा क्षेत्र विदेशी मुद्रा आर्जन गर्ने दिगो माध्यम रहेको बताए। उनले ऊर्जा क्षेत्रको समग्र विकास र नीतिगत सुधारका लागि सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले नेपाल उद्योग परिसंघले ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै परिसंघमा ऊर्जा परिषद् गठन गरी यस क्षेत्रमा कार्य गर्दै आएको बताए। उनले पीपीए खुला गरिनुपर्ने र नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गरिनुपर्ने धारणा पनि राखे।
इप्पानका अध्यक्ष कार्कीले ऊर्जा क्षेत्रको विकासका लागि ऊर्जा संकटकाल घोषणा गर्न सरकारलाई सुझाव दिएको बताए। उनले ऊर्जा क्षेत्रको सन्दर्भमा निजी क्षेत्रको सुझावमा एकरुपता हुनुपर्नेमा जोड दिए।
निजी क्षेत्रलाई आन्तरिक एवं बाह्य क्षेत्रमा विद्युत व्यापार गर्न दिनुपर्ने, विद्युत निर्यातका लागि सीमा क्षेत्रसम्म प्रसारणलाइन निर्माण हुनुपर्ने, उद्योगीहरुले आवश्यक विजुली पाउनुपर्नेलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएको कार्कीले बताए।
कार्यक्रममा परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, परिसंघ महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19