– अनन्त्य सुन्दर
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ३० वर्षको इतिहासमा अहिलेसम्म धितोपत्र ऐनविपरीत कारोबार गरेका बजारका कहलिएका खेलाडीहरुलाई कानुनी कठघरामामा ल्याउन सकेको छैन। कानुनमै भएको ‘लुप होल्स’मा खेल्न माहिर खेलाडीहरुले गर्दा पनि सेबोनले ठूला खेलाडीलाई कारबाही गर्न असफल भएको देखिन्छ।
नेपालको सेयर बजारमा खेलाडीहरुले खेल्ने लुप होल्समध्येको एक ‘अंशबन्डा’ र अर्को ‘डिभोर्स’ पनि रहेको छ। परिवारजनको नाममा धितोपत्र ऐनविपरीत सेयर कारोबार गरेपछि अवैध कारोबारलाई वैधता दिन कानुनी रुपमा अंशबन्डा, डिभोर्सलगायत गरी कुनै पनि सम्बन्ध नरहेको प्रमाण पेस गर्ने विकृति बढ्दो छ।
साल २०७४ मा नेपाली सेयर बजारमा यस्तै घटना घटेको थियो।
ऊर्जा व्यवसायी गुरुप्रसाद न्यौपानेले जनता बैंकको सञ्चालक हुँदा पत्नी सावित्रीदेवी न्यौपानेको नाममा अवैध रुपमा किनेको साधारण सेयरलाई वैधता दिन डिभोर्स गरेका थिए। डिभोर्स भएको केही दिनमै उनी पत्नी सावित्रीदेवी लन्डन पुगेका थिए। न्यौपानेनिकट परिवारजनका अनुसार अहिले पनि उनी सावित्रीदेवीसँगै बस्दै आएका छन्। अर्थात् न्यौपानेले उक्त डिभोर्स आफू कानुनी कारबाहीबाट बच्नका लागिमात्र गरेको देखिन्छ।
न्यौपानेले धितोपत्र ऐनविपरीत जनता बैंकको अध्यक्षमा हुँदा पत्नी सावित्रीदेवीको नाममा सेयर खरिद गरेको पाइएको थियो। उक्त विषयबाहिर आएसँगै न्यौपानेले सावित्रीदेवीसँग कानुनी रुपमा डिभोर्स गरेका थिए। नेपाल राष्ट्र बैंकलाई उनले सावित्रीदेवी आफ्नी श्रीमती नहुनुका साथै उनलाई आफूले नचिन्ने बयान दिएका थिए।
न्यौपानेले झैँ अर्का ऊर्जा व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले ‘अंशबन्डा’ को लुप होल्स प्रयोग गरी कानुनी कारबाहीबाट बच्न दाउ गरेको सेबोनका एक कर्मचारीले बताए।
सेबोनले गत वर्ष फागुनमा प्रधानले धितोपत्र ऐनविपरीत कारोबार गरेको भनी अध्ययन–अनुसन्धान अघि बढाएको थियो। सेबोनको प्रारम्भिक अध्ययनले प्रधानले धितोपत्र ऐनविपरीत पत्नी, छोरा र छोरीको नाममा रहेको करोडौँ रुपैयाँबराबरको सेयर बिक्री गरेको पाइएपछि थप अध्ययन अघि बढाएको थियो।
नेपाल हाइड्रो डेभलोपर लिमिटेडको अध्यक्ष हुँदा प्रधानले पत्नी विमला, छोरा चेतन र छोरी निभिताको नाममा रहेको नेपाल हाइड्रो डेभलोपरको झन्डै १ लाख कित्ताबराबरको सेयर ६ करोड रुपैयाँभन्दा बढीमा बेचेको पाइएसँगै सेबोनले अध्ययन अघि बढाएको थियो। तर, सेबोनले गरेको अध्ययन अन्तिम चरणमा पुग्दै गर्दा प्रधानसँगै हाल विमल, चेतन र निभिताको कुनै सम्बन्ध नभएको खुलेको छ।
सेबोनको धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को ३८ (१क) मा कुनै पनि सूचीकृत कम्पनीको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिवलगायतका पदाधिकारीले पदमा रहँदा वा त्यस्तो पदको आकाश प्राप्त भएको १ वर्षसम्म आफ्नो वा आफ्नो परिवारको सदस्यको नाममा कम्पनीको सेयर खरिदबिक्री गर्न नपाइने व्यवस्था रहेको छ।
उक्त नियमावलीअनुसार प्रधानलाई पनि आफू पदमा रहँदा नै परिवारजनको नाममा सेयर खरिदबिक्री गर्न बन्देज थियो। तर, सेबोनले गरेको अध्ययनले प्रधानको पत्नी विमला, छोरा चेतन र छोरी निभितासँग हाल कुनै पनि सम्बन्ध नरहेको खुलेको छ।
सेबोनका एक उच्च अधिकारीका अनुसार ज्ञानेन्द्रलाल प्रधान पत्नीसँग डिभोर्स हुनुका साथै छोराछोरीलाई अंशबन्डा गरिसकेकोले कुनै पनि सम्बन्ध नरहेको खुलेको छ। ‘हामीले डिभोर्स र अंशबन्डाको मितिलगायतका अन्य विवरण प्रधानसँग केही महिनाअघि माग्ने प्रयत्न गरेका थियौँ’, ती अधिकारीले भने, ‘त्यसबेला उनी नेपालबाहिर भएकाले अध्ययन अघि बढ्न सकेको थिएन। अब डिभोर्स र अंशबन्डाबारे थप विवरण संकलन गरी अध्ययन अघि बढाउँछौँ।’
यस विषयमा ज्ञानेन्द्रलाल प्रधानले अंशबन्डा भइसकेकाले अन्यलाई सेयर खरिदबिक्री गर्न कानुनले नरोक्ने बताए। ‘मैले आफ्नो नाममा भएको सेयर बेचेको होइन, अरुले बेचेका हुन्’, उनले बिजशालासँग भने।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago