काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता २०० सय रुपैयाँ हाराहारीमा कारोबार भइरहेको हिमालयन पावर पार्टनर लिमीटेड चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घाटामा गएको छ । 

जसका कारण यो कम्पनीका मुख्य सूचकहरुमा नकारात्मक प्रभाव परेको देखिएको छ । 

समीक्षा अवधिमा कम्पनी ९ करोड ४० लाख घाटामा गएको हो । अघिल्लो आर्थिक वर्षको यही अवधिमा कम्पनी ८७ लाखभन्दा बढी नाफामा थियो । 

आम्दानीमा निकै राम्रो बढोत्तरी भए पनि खर्च पनि ह्वात्तै बढ्दा तथा  कम्पनीले लिएको अल्पकालीन अवधिको ऋण तिरेका कारण त्यसको असर नाफामा देखिएको हो । समीक्षा अवधिमा कम्पनीको ६ करोड बढी अल्पकालीन ऋण रहेको छ । अघिल्लो वर्ष २२ करोड ६० लाख बढी थियो । 

अघिल्लो वर्षको यही अवधिसम्म १ करोड ३४ लाखमा सीमित रेभेन्यू समीक्षा अवधिमा बढेर ९ करोड ९६ लाखको उचाईमा पुगेको छ भने बिक्रीबाट हुने आम्दानी समेत ५ लाख ६४ हजारबाट बढेर १ करोड ३ लाख माथि पुगेको छ । 

कुल आम्दानी ८ करोड ९२ लाख पुगेको छ । यस्तो आम्दानी अघिल्लो वर्ष ४ करोड १६ लाखमा सीमित थियो । 

अघिल्लो वर्षको यही अवधिसम्म १ करोड २८ लाखमा सीमित कुल खर्च बढेर यो वर्ष ६ करोड ३७ लाख माथि पुगेको छ । यसले समेत खूद नाफामा हिट गरेको देखिन्छ । 

अघिल्लो वर्ष २ करोडमा सीमित फाइनान्स कस्ट बढेर यो वर्ष ११ करोड ९५ लाख माथि पुगेको छ । यही कारण कम्पनी पहिलो त्रैमासमा घाटामा गएको हो । 

कम्पनी घाटामा जाँदा वार्षिकीकृत प्रतिसेयर आम्दानी  ८.८२ रुपैयाँले नेगेटिभ बनेको छ भने पीई रेसियो पनि २४.८२ गुणाले नेगेटिभ छ । प्रतिसेयर नेटवर्थ झरेर ९१ रुपैयाँमा सीमित बन्न पुगेको छ । यो भनेको अंकित मूल्य रु १०० भन्दा कम हो । 

यो जलविद्युत कम्पनीले २०७९ असोज १४ गतेदेखि व्यापारिक उत्पादन थालेको थियो । संस्थाको चालु सम्पत्ति गत वर्षको त्रैमासिक अवधिको अन्तमा भन्दा ४५.३६ प्रतिशत र चालु दायीत्व ६९.६२ प्रतिशतले घटेको छ । 

कम्पनीले लमजुंगको दोर्दी खोला २७ मेगावाटको जलविद्युत आयोजना निर्माण गरी उत्पादन थालेको हो । 

आम्दानी हुन थालेकोले आगामी दिनमा कम्पनीको आर्थिक अवस्थामा सुधार हुने अपेक्षा गर्न सकिन्छ ।