– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आज आइतबारबाट सेयर कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) बाट अल अर नन् (एओएन) सुविधा हटाउन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको छ। 

टीएमएसबाट अल अर नन् (कि त सबै देऊ, नभए दिँदै नदेऊ) को सुविधा हटाउने धितोपत्र बोर्डको निर्देशनले बजारमा हलचल नै मच्चिएको छ। धेरैजसो लगानीकर्ताले धितोपत्र बोर्डको यो निर्देशनको स्वागत गरेका छन्। कतिपयले भने धितोपत्र बोर्डले आफ्नो यो निर्देशन केही परिमार्जनसहित लागू गर्नुपर्ने धारणा राखेका छन्। 

सेयर बजारका प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्याल एओएन अहिले सर्कुलर ट्रेडिङ गर्नका लागि सबैभन्दा ठूलो हतियार तथा टुल भएको बताउँछन्। ‘एओएन हटाउने निर्णय स्वागतयोग्य नै छ तर यो हट्दैमा सेयर बजारमा गलत काम हट्छ भन्ने कुनै ग्यारेन्टी छैन’, उनी भन्छन्, ‘टीएमएसबाट एओएन अप्सन हटेसँगै यसका राम्रा उद्देश्य पनि हट्ने भए। त्यसैले टीएमएसमा छुट्टै विन्डो बनाएर ‘बल्क’ र ‘ब्लक’ फिचर राखेर एओएनलाई राम्रो र आवश्यक कामका लागि प्रयोगमा ल्याउन सकिन्छ भन्ने मेरो धारणा छ।’

ब्रोकरेज र डीपी चार्ज दिनभरको कारोबार हेरेर लगाउने हो भने वैज्ञानिक हुने बस्यालको भनाइ छ। ‘अन्तर्राष्ट्रिय बजारमा यस्तै हुन्छ’, उनले भने। बल्क र ब्लक फचरसहित ब्रोकरलाई मात्रै छट्टै विन्डो दिएर सर्वसाधारणले नदेख्ने गरी सही प्रयोग गर्न सकिने बस्यालको तर्क छ। 

अडलटका विषयमा बस्यालले विश्व बजारमा १ कित्ता पनि कारोबार हुने हुँदा नेपालमा अडलट कारोबार गर्न नपाइने प्रावधान वैज्ञानिक नभएको बताउँछन्। ‘यो प्रवधान हटाउन कुनै झन्झटै छैन, नियामकको एउटै निर्देशनले हट्छ’, उनले भने, ‘एओएन हटाएरमात्रै पुग्दैन, यसको गलत प्रयोग गर्नेलाई पत्ता लगाएर तथा नियम नभए बनाएर पनि कारबाही गर्न सकिने व्यवस्था गरिनुपर्छ।’

बजार जानकार गोविन्दप्रसाद घिमिरे टीएमएसबाट एओएन सुविधा हटाउनु सेबोनको स्वागतयोग्य कदम भएको बताउँछन्। ‘यो सुविधा हटाउनु उचित नै हो तर यसैका कारण साना लगानीकर्ता थप आर्थिक मारमा पर्नु भएन’, उनी भन्छन्, ‘नियमित विन्डोमा गर्ने भए निश्चित कित्ता तथा कारोबार रकमसम्म हद तोकेर व्यवस्थित गरिनुपर्छ।’

धितोपत्र बोर्डले फर्जी काम गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने घिमिरेको सुझाव छ। 

अहिलेको स्पेसल प्रि–ओपन सेसन पनि साना लगानीकर्ताका लागि ‘मूल्य अन्तरको पासो’ भएको घिमिरे बताउँछन्। ‘अन्तर्राष्ट्रिय बजारमा प्रि–ओपन सेसनको राम्रो पक्ष होला तर नेपालमा यसको गलत प्रयोग भइरहेको छ’, उनी भन्छन्। 

सक्रिय लगानीकर्ता रोहन कार्की एओएन हटाउने विषय अध्ययन गरेरमात्रै ल्याउनुपर्नेमा हतारमा ल्याएर भविष्यमा पछुताउनुपर्ने हो भन्दै आशंका व्यक्त गर्छन्। ‘एओएन कारोबारमा सीमा तोकेर ५००, १ हजार वा १० हजार खरिद वा बिक्री पोस्ट गर्ने सुविधा दिन सकिन्थ्यो कि’, उनले भने, ‘यो सुविधा हटाउनुपूर्व धितोपत्र बोर्डले यसका राम्रा पक्षका बारेमा पनि ख्याल गर्नुपथ्र्यो।’

यो सुविधा हटेसँगै अब टुक्राएर थोरै–थोरै कित्ता कारोबार भएमा साना लगानीकर्तामाथि कमिसन भार बढ्न सक्ने कार्कीको भनाइ छ। ‘साना लगानीकर्तामाथि कमिसनको भार बढ्न नदिन धितोपत्र बोर्डले बेलैमा उचित कदम चाल्न आवश्यक रहेको देखिन्छ’, उनी सुझाव दिन्छन्।