काठमाण्डौ । लामो समयको ओरालो यात्रापछि उछालको गतिमा कुदेको बजार एक दिन पनि टिक्न सकेन । अन्ततः अघिल्लो दिन(सोमबार)को हराभरा बजार भोलिपल्टै(मंगलबार) राताम्मे भएको छ । 

सोमबार बुलिस ट्रेण्डमा कुदेको बजार मंगलबार ३.३८  अंकले घट्यो भने कारोबार रकमतर्फ पनि ठूलै गिरावट देखियो । 

सोमबार १ अर्ब माथिको कारोबार भएको बजारमा मंगलबार भने ७५ करोडको मात्र सेयर किनबेच भयो । 

मंगलबार सबैभन्दा बढी उत्पादनमूलक समूह १.१९ प्रतिशत अर्थात २७.८ अंकले तल झरेको छ । वाणिज्य बैंक समूहमा १.९६ अंकको झिनो गिरावट देखियो भने विकास बैंक र बित्त समूह क्रमशः २.३९ र १.१८ अंकले ओर्लिए । होटल समूह २.३, जलविद्युत २.५५, बिमा २३.२६ र अन्य समूह ४.०५ अंकले तल झरे । 

सेन्सेटिभ इण्डेक्स र फ्लोट इण्डेक्स पनि घटे । 

१ सय ४२ कम्पनीका कुल ९ लाख ६६ हजार २ सय २८ कित्ता सेयर ७५ करोड ७२ लाखमा किनबेच भयो । 

धेरै कारोबार गर्ने कम्पनी

मंगलबार वाणिज्य बैंकहरुले मात्र ४३ करोड १३ लाख बराबरको कारोबार गरे । एभरेष्ट बैंकले ११ करोड ५४ लाखको कारोबार गर्यो भने एनबी बैंकले ५ करोड ७० लाख, सिद्धार्थ बैंकको ५ करोड १८ लाख, सनराइज बैंकको ३ करोड ६० लाख, नेशनल लाइफ इन्स्योरेन्सको २ करोड ७८ लाख बराबरको सेयर किनबेच भयो । राष्ट्रिय विमा कम्पनी लिमीटेडको २ करोड ५३ लाखको सेयर कारोबार भएको बजारमा शिखर इन्स्योरेन्सले २ करोड १२ लाखको कारोबार गर्यो । प्रूडेन्सियल इन्स्योेरेन्सको २ करोडको प्रोमोटर सेयर किनबेच भयो भने सानिमा बैंकको १ करोड ९६ लाख र नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ५२ लाखको सेयर किनबेच भयो । 

समूहगत हिसाबमा बिमा कम्पनीहरुले १२ करोड ७१ लाखको कारोबार गरे भने सबैभन्दा कम उत्पादनमूलक समूहले १५ लाख ५० हजारको मात्र कारोबार गर्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
रिलायवल माइक्रोफाइनान्स बित्तीय संस्था, एनबी इन्स्योरेन्स र रिलायन्स लोटस फाइनान्सका लगानीकर्ता मालामाल भए । रियालयवल माइक्रोफाइनान्सको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो भने एनबी र रिलायन्सको ९.९ प्रतिशतको हाराहारीमा बढ्यो । ज्योति विकास बैंकको सेयर मूल्य पनि ८.८८ प्रतिशतले वृद्धि भयो । 

मंगलबार बोटलर्स नेपाल(तराई) लिमीटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ८ प्रतिशतको हाराहारीमा घट्यो । नाग्दी ग्रुप पावर लिमीटेडको सेयर मूल्य पनि साढे ७ प्रतिशतको हाराहारीमा ओरालो लाग्यो ।