काठमाण्डौ । बुधबारको पूँजी बजारमा दुई कम्पनीको सेयर खरीदमा लगानीकर्ता थुप्रिएर कारोबार १ अर्ब १९ करोड माथि पुगे पनि नेप्से परिसूचक ३.०१ अंकले घटेर १६९८.९० मा झरेको छ । 

मंगलबारदेखि सुरु भएको बजारको गिरावट यात्रा बुधबार पनि जारी भएको हो । 

बुधबार ४ समूहको परिसूचक उकालो लाग्यो भने बाँकी ३ समूहको सूचकमा रातो पोतियो । 

एभरेष्ट बैंकले ७० प्रतिशत बोनस सेयर र ३ बराबर १ को दरले हकप्रद निश्कासनको घोषणा गरेका कारण लगानीकर्ताहरु यो कम्पनीको सेयरमा आकर्षित भए । यही कारण ३९ करोडको हाराहारीमा एभरेष्ट बैंकको सेयर मात्र किनबेच भयो । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पनि २३ करोडको हाराहारीमा कारोबार गर्यो । यी दुई कम्पनीले मात्रै ६२ करोडको हाराहारीमा कारोबार गरे । 

बुधबार वाणिज्य बैंक समूह ५.६१ अंकले घट्यो । विकास बैंक समूहमा १३.६९ र जलविद्युत समूहमा २३.९४ अंकको गिरावट देखियो । 

होटल समूह ४२.६८ अंकले बढ्यो भने बिमा समूह ६२.५८, बित्त समूह १.३१ र अन्य समूह १.१६ अंकले बढे । 

धेरै कारोबार गर्ने कम्पनी
बुधबार वाणिज्य बैंक समूहले मात्रै ६३ करोड २८ लाखको कारोबार गर्यो । बिमा समूहले ३६ करोड ५४ लाखको कारोबार गर्यो भने विकास बैंक समूहले १२ करोड ३४ लाख बराबरको कारोबार गर्यो । 

सबैभन्दा धेरै कारोबार एभरेष्ट बैंकले ३८ करोड ९५ लाखको गर्यो । नेशनल लाइफले २२ करोड ७५ लाख, गरिमा विकास बैंक लिमीटेडले ५ करोड २० लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ३ करोड ३२ लाख, नेपाल एसबीआई बैंकले २ करोड ९१ लाख, एनएमबी बैंकले १ करोड ८९ लाख बराबरको कारोबार गरे । 

धेरै कारोबार गर्ने मुख्य १० कम्पनीको सूचिमा ५ स्थान वाणिज्य बैंकले, ४ स्थान बिमा कम्पनी र १ स्थान विकास बैंकले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
बुधबार सिर्जना फाइनान्स बित्तीय संस्थाका लगानीकर्ता मालामाल भए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । अरुण फाइनान्सको सेयर मूल्य पनि ७ प्रतिशत भन्दा बढीले वृद्धि भयो । 

आइएलएफसिओ माइक्रो फाइनान्स बित्तीय संस्थाको सेयर मूल्य मंगलबार झै बुधबार पनि घट्यो । यो कम्पनीको सेयर मूल्य ९ प्रतिशतको हाराहारीमा घट्यो । महिला सहयात्रा माइक्रो फाइनान्स बित्तीय संस्थाको सेयर मूल्य पनि साढे ७ प्रतिशतको हाराहारीमा घट्यो ।