– अर्जुन तिमिल्सिना
काठमाण्डौ । संसारमा पैसा कमाउने धेरै उपाय हुन्छन्। तर, पैसा कमाउने मुख्यगरी दुई उपाय हुन्छन्। पहिलो पैसालाई काममा लगाउनु र दोस्रो पैसाका लागि काम गर्नु।
सेयरमा लगानी गर्नु भनेको पैसालाई काममा लगाउनु हो। सेयर बजारमा धेरैले आज गरेको लगानी भोलि नै प्रतिफल खोज्नेहरु पनि हुन्छन्।
हामी ब्रोकर हाउसहरुमा हिँड्दाडुल्दा केही यस्ता लगानीकर्ता पनि भेट्छौँ, जसले आफ्नो सानो लगानी गरेर वर्षौं भुलेर बसेका पनि हुन्छन्। आज हामीले एक टुरिस्ट गाइडको सेयर बजार अनुभव हाम्रा पाठकसामु केही हौसला र केही ज्ञान होस् भन्ने उद्देश्यले प्रस्तुत गरेका छौँ।
सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२) मा भेटिएका किसान श्रेष्ठ सेयर बजारका एक पुराना लगानीकर्ता हुन्। सोलुखुम्बु स्थायी घर भएका किसान पेसाले टुरिस्ट गाइड हुन्। ‘म सेयर बजारको खेलाडी भने होइन तर सेयर बजारबाट मनग्य कमाएको अनुभव भने छ’, किसान भन्छन्।
बैंकमा काम गर्ने एकजना साथीमार्फत किसान झन्डै २ दशकअघि सेयर बजारमा प्रवेश गरेका थिए। किसानले सबैभन्दा पहिले एभरेस्ट बैंकको आईपीओमा जम्मा ५ हजार रुपैयाँ लगानी गरेका थिए। उनले आफूसहित परिवारका तीनजनाको नाममा ५० कित्ता आईपीओ भरेका थिए। ‘एभरेस्ट बैंकको सबै सेयर १२ वर्षपछि बेचेँ’, उनले भने, ‘त्यसबाट ३ लाख ९० हजार रुपैयाँजति आयो।’
त्यो बेला अनुभव सुनाउँदै किसानले भने, ‘अहिलेजस्तो थिएन, ब्रोकरले एउटा कागजमा सही गरेर राख्थ्यो अनि बेचेपछि घरमै पैसा ल्याइदिन्थ्यो।’
कुल ५ हजार रुपैयाँको लगानी झन्डै ४ लाख भएपछि किसानमा सेयर बजारको राम्रै रस बस्यो। त्यसपछि उनीले मुक्तिनाथ विकास बैंकको आईपीओ सबै परिवारका सदस्यको नाममा भरे। ‘२०६२–६३ सालतिर मुक्तिनाथ बैंकको सेयर मसहित श्रीमती र छोराछोरी गरी ४ जनाको नाममा भर्दा २५० कित्ता पर्यो’, उनले भने।
त्यतिबेला किसानले मुक्तिनाथ विकास बैंकको सेयरमा जम्मा २५ हजार रुपैयाँ लगानी गरेका थिए। ‘मैले धेरै वर्ष मुक्तिनाथ विकास बैंकको सेयर होल्ड गरेर राखेँ, बोनस र हकप्रदसहित ६ हजार कित्ताजति पुगेको थियो’, उनले भने, ‘कोभिड महामारी सुरु हुनुअघि सबै बेचेँ, त्यतिबेला २५ लाख रुपैयाँजति आएको थियो।’
यी त किसानलाई याद भएका कम्पनीहरुमात्रै हुन्। उनीसँग अन्य कम्पनीको पनि आईपीओ सेयर थियो। ‘कोभिडको बेला ट्रेकिङ पेसा ठप्प भयो। २–३ वर्ष काम नहुँदा त्यही सेयर बेचेर घरखर्च चलाएँ’, उनले भने, ‘सबै सेयर राखेको भए मसँग आईपीओकोे मात्रै १ करोडको सेयर हुने थियो।’
सेयर बजारमा मुख्यगरी धैर्यता आवश्यक पर्ने किसानको अनुभव छ। ‘आजको भोलि नै प्रतिफल खोज्नुभन्दा राम्रा कम्पनीमा दीर्घकालीन लगानी नै फाइदा हुन्छ’, उनले सुझाव दिँदै भने।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago