– रेखा चन्द

काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर भई बनेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको रोकिएको सेयर कारोबार १ महिनाभन्दा बढी समय बित्दा खुल्न सकेको छैन। 

एकीकृत कारोबारपछि सेयर मिलानका लागि बढीमा १५ दिनमात्रै सेयर कारोबार रोक्का हुने नेपाल धितोपत्र बोर्ड (सेबोन) को व्यवस्था छ। तर, यो बैंकको सेयर कारोबार रोकिएको १ महिनाभन्दा बढी समय बितिसकेको छ।

तत्कालीन नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकले नयाँ नामबाट गत पुस २७ गतेबाट एकीकृत कारोबार सुुरु गरेका थिए। तर, आज फागुन २ गते भइसक्दा पनि यो बैंकको सेयर कारोबार खुल्ने कुनै छाँटकाँट देखिएको छैन। 

यसो त सेबोनको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक–आपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’ मा सूचीकृत संस्थाहरु एक–आपसमा गाभ्ने वा गाभिने प्रक्रियामा गएर एकीकृत कारोबार गरेपछि मात्रै १५ दिनसम्म कारोबार रोकिने व्यवस्था छ। 

सेबोन अध्यक्ष रमेशकुमार हमालले पनि आफूले एकीकृत कारोबारपछि बढीमा १५ दिनसम्म कारोबार रोकिने व्यवस्था ल्याएको र १५ दिनभन्दा बढी कारोबार रोकिने संस्थालाई कारबाही गर्ने बताउँदै आएका थिए। 

बैंकको सेयर कारोबार नखुल्दा लगानीकर्ताले समेत गुनासो गर्न थालेका छन्। केही समयअघि महिनौँसम्म आफ्नो लगानी बन्धक बनाउन बाध्य लगानीकर्तालाई सेबोनले गरेको नयाँ व्यवस्थाले केही राहत मिलेको थियो। तर, १ महिनाभन्दा बढी समयसम्म पनि सेयर कारोबार गर्न नखुल्दा लगानीकर्ता लगानीलाई होल्ड गर्न बाध्य छन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का एक अधिकारीले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सेयर कारोबार फुकुवाका लागि पत्र आइनपुगेको बताए। ‘नेप्सेले पत्र प्राप्त गर्नासाथ सेयर कारोबार फुकुवा गरिदिन्छ’, ती अधिकारीले भने, ‘कारोबार फुकुवा गरिदिन सिफारिस आएसँगै हामीले फुकुवा गरिदिने हो। हामीले रोक्न मिल्दैन।’

बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले यही साताभित्र सबै प्रक्रिया सकिएर सेयर कारोबार खुल्ने बाताए। ‘सबै प्रक्रिया अघि बढिसक्यो, त्यसकारण यही हप्ताभित्रमा सेयरका कारोबार खुल्न सक्छ’, उनले भने।

सेबोनका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले पनि यही साता इन्भेस्टमेन्ट मेगा बैंकको सेयर कारोबार फुकुवा गर्ने प्रक्रिया पूरा हुने बताए। ‘बैंकले सेबोनमा गत शुक्रबार पत्र पठाइसकेको छ’, उनले भने, ‘सेबोनले यही साताभित्रै नेप्से र सीडीएससीमा पत्र पठाएर सेयर कारोबार फुकुवा गर्न सिफारिस गर्नेछ।’

सेबोनले गरेको व्यवस्थाभन्दा बढी समय सेयर कारोबार रोकिएकोले बैंकमाथि कारबाही हुन्छ कि हुँदैन भन्ने बिजशालाको प्रश्न प्रवक्ता श्रेष्ठले भने, ‘बैंकको कारणले ढिलाइ भएको भए सेबोनले कारबाही गर्थ्यो तर मर्जरपछि कम्पनी रजिस्ट्रारको कार्यालयले कम्पनी दर्तालगायतका विषयमा ढिलाइ गर्दा सेयर कारोबार फुकुवामा पनि ढिलाइ भएको हो। त्यसैले यसमा बैंकको लापरबाही देखिँदैन।’